पेयजल सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार मङ्गलबारदेखि

डिसी नेपाल
२२ मंसिर २०७७ २२:३७

काठमाडौँ । स्मार्ट वास सोलुसन्स प्रालि र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स (आइसिएचयू) को संयुक्त आयोजनामा भोलि मङ्सिर २३ देखि २६ गतेसम्म भविष्यका लागि जल सुरक्षा मञ्च, २०२० विषयक चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार हुने भएको छ ।

आयोजक स्मार्ट वास सोलुसन्स प्रालिका तर्फबाट आज यहाँ आयोजित पत्रकारसम्मेलनमा वेबिनारबारे जानकारी दिँदै कार्यक्रममा जल सुरक्षा दिगो व्यवस्थापनका लागि युनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको समेत आतिथ्यता रहने बताइएको छ ।

पत्रकारसम्मेलनमा जीव र वनस्पतिको जीवनसँग जोडिएको पानीको महत्वबारे प्रकाश पार्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वच्छ, सफा र गुणस्तरीय पानीको महत्व कोरोना भाइरसको सङ्क्रमणले समेत बुझाएको बताए । उनले संसारको सबै भागमा स्वच्छ पानीका प्राकृतिक स्रोतहरु उपलब्ध नभएकाले सतही वा भूमिगत पानीका स्रोतहरुबाट प्राप्त पानीलाई प्रशोधन गरेर खान वा उपभोग योग्य बनाउँदै घरघरमा पुर्याउन भने संसारभर नयाँ प्रविधिको विकास भएको उल्लेख गरे ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनअनुसार विगत १०० वर्षमा पानीको उपयोग छ गुणा बढेको छ । स्मार्ट वासका सल्लाहकार एवम् पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश साहले पानीको महत्व कहिल्यै कम नहुने बताउँदै शहरीकरण बढ्दै गएपछि पानीको उपभोग बढ्ने भएकाले विश्वमा स्वच्छ पेय जल आपूर्तिको विषय चुनौतीपूर्ण बन्दै आएको बताए ।

उनले पानीको मुहान संरक्षणदेखि, सङ्कलन, भण्डारण प्रशोधन, वितरणमा विश्वमा विकसित उन्नत प्रविधि मुलुकमा भित्र्याएर उपभोक्तालाई सहज रुपमा गुणस्तरीय पानी आपूर्ति गराउन सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनारमा नेपाल र कोरियाका यस क्षेत्रका अगुवा नीति निर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक र अभ्यासकर्ताहरुले जल सुरक्षाको भविष्य, जलवायु परिवर्तन र जल सुरक्षा, जल सुरक्षाको निमित्त सूचना, सञ्चार र प्रविधि तथा पानी आपूर्ति पद्धतिको उन्नत प्रविधिका विषयका १५ कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।

प्रस्तुत कार्यपत्रमाथि यस क्षेत्रका विज्ञ, अभ्यासकर्ता र उपभोक्ताहरुले टिप्पणी गर्नुहुनेछ । यस वेबिनारमा जलवायु परिवर्तनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कम गर्न अपनाउनुपर्ने उपाय, पानीका प्राकृतिक स्रोतको संरक्षण, प्रकृतिले दिने वर्षाको पानीको सङ्कलन, भण्डारण, प्रशोधन र वितरण, पानीको गुणस्तर कायम गर्ने र उपभोगपछिको फालिएको पानीको प्रशोधन र पुनः उपयोगका बारेमा समेत विज्ञहरुको प्रस्तुति हुने बताइएको छ ।

वेबिनारमा प्रस्तुत कार्यपत्र तथा विज्ञहरुका विचारहरु नेपालका तीनै तहका सरकारका जिम्मेवार पदाधिकारी, नीति निर्माता, योजनाविद्, विधायक, स्थानीय तहका पदाधिकारीहरु, उपभोक्ता समूह, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा आम उपभोक्तासमक्ष पुर्याई नेपाललाई जल सुरक्षा पर्याप्त भएको मुलुकका रुपमा राख्न र नेपालीलाई पर्याप्त स्वच्छ, सफा र गुणस्तरीय पानीका माध्यमबाट स्वस्थ्य र दीर्घजीवी राख्न सघाउने आयोजकहरुको विश्वास छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *