गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी
इलाम । यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन्। पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन्। बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ। अब भने केही सालमै पुल बनिने भएपछि स्थानीयवासी खुसी देखिएका हुन्।
“अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौँ”, स्थानीय बलबहादुर राईले भने, “शिलान्यासपछि केही आश पलाएको छ ।” धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मङ्गलबार शिलान्यास गरेका थिए। प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो दुई वर्षभित्र पुल बनिसक्नेगरी ठेक्का लागेको छ।
पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताए। “बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन”, उनले भने, “पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।” गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्याेदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुने छन्।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment