मलेशियाको टप ग्लोभ कम्पनीले श्रमिकको क्वारेन्टिन र उपचार खर्च आफै व्यहोर्ने

डिसी नेपाल
२७ मंसिर २०७७ २२:४२

क्वाललम्पुर। मलेशियाको सेलेङ्गरस्थित टप ग्लोभ कम्पनीले श्रमिकहरुको क्वारेन्टिन खर्च र उपचार खर्च कम्पनीले नै व्यहोर्ने जानकारी दिएको छ। केही श्रमिकहरुले क्वारेन्टिन खर्च र उपचार खर्च माशिक तलबबाट काटिएको भन्दै भ्रम सिर्जना गरेको सो कम्पनीले जनाएको छ। कम्पनीले २ डिसेम्बरमा सर्कुलर जारी गर्दै श्रमिकहरुको माशिक तलबबाट कुनै कटौती नहुने बताएको छ।

साथै यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्नसमेत आग्रह गरेको छ। सो कम्पनीमा कार्यरत एक नेपालीको शनिबारमात्र कोरोनाका कारण मृत्यु भएको छ। सेक्युरिटी गार्डको काम गर्दै आएका नवलपरासीका यामनारायण चौधरीको निधन भएको हो।

केहीदिनदेखि रुघा खोकीको समस्यामा रहेका उनलाई २१ नोभेम्बरमा बेहोस भएपछि अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन्। सो टप ग्लोभ कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिक कोरोना संक्रमित भएपछि मलेशिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *