देशभर काँग्रेस शक्ति प्रदर्शन, सरकारलाई सच्चिन चेतावनी

धनकुमार कार्की
२९ मंसिर २०७७ १९:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर शक्ति प्रदर्शन गरेको छ। सरकारले गरेका कामहरुमा असन्तुष्टी जनाउँदै त्यसको बिरुद्धमा कांग्रेसले देशैभरी सडक प्रदर्शन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध पहिलो पटक आक्रामक रुपमा प्रस्तुत भएको हो। सोमबार गरिएको विरोध प्रदर्शनमा देशैभर लाखौं मानिसहरु सहभागी भएका छन्।

काँग्रेसले सडकमा गरेको यो प्रदर्शनबाट सरकारलाई सच्चिन चेतावनी दिएको छ।

प्रदर्शनका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा मकवानपुरमा पुगेका थिए। रुपन्देहीमा आयोजित विरोध सभालाई कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, पोखरामा आयोजना गरेको प्रदर्शनमा अर्जुन नरसिंह केसी, विराटनगरमा विरोध प्रदर्शनमा महामन्त्री डा शशांक कोइराला लगायत देशैभरी मुख्य नेताहरुले सम्बोधन गरेका छन्।

मकवानपुरमा भएको सरकारविरूद्ध प्रदर्शनमा सम्बोधन गर्दै सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको आरोप लगाएका छन्।

तनहुँमा रामचन्द्र पौडेल पक्राउ परेको घट्नालाई इंगित गर्दै देउवाले यस्तो बताएका हुन्।

तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन।’

काँग्रेसले सडक प्रदर्शनका लागि केही नारा तय गरेको थियो जसमा ओली सरकारमाथि आरोप लगाइएको थियो। भ्रष्टाचारमा डूबेको आरोप काँग्रेसले सबैभन्दा महत्वका साथ उठाएको थियो। ओम्नी प्रकरण, वाइड बडी जहाज प्रकरण, बालुवाटार जग्गा प्रकरण, यति प्रकरणबारे काँग्रेसले सडकबाट आवाज उठाएको हो। काँग्रेसको यो तय गरिएको नाराले जनतालाई आकर्षित गरेको देखिन्छ। सोमबार देशभर काँग्रेसको प्रदर्शनमा लाखौं मानिसहरु सहभागी भएर यो सरकारलाई सच्चिन चेतावनी दिएका छन्।

प्रदर्शनपछि सोमबार साँझ सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम सफल भएको जनाएका छन्। उनले लेखेका छन्, ‘आजको प्रदर्शनले नेपाली काँग्रेस पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको छ। यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली काँग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु। प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु।’

प्रदर्शन गर्नु बाध्यता

सभापति देउवाले काँगे्रसले कोरोना महामारीका बेला पनि बाध्य भएर सडकमा आउनुपरेको बताएका छन्।

काँग्रेस सरकार विरोधी आन्दोलनका लागि सडक आन्दोलनमा जानुको बिकल्प नभएको काँग्रेस नेताशरुको दाबी छ। संसदको अधिवेशन नचलेको लामो समय भइसकेको छ। पछिल्लो समय सरकारको गतिबिधी पनि बाहिरैबाट नियालीरहेको कांग्रेसले बाध्य भएर सडकमा आएको हो।

सरकारमाथि करोठ आरोप

देउवाले कोरोनामा पनि सरकारका जिम्मेवजार व्यक्तिहरुले घुस खाने काम गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताएका छन्। मकवानपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सरकारलाई बारम्बार सहयोग गरेको हो। यति गर्दा पनि सरकार नसच्चिएपछि हामी बाध्य भएर सडकमा आएका छौँ।’

देउवाले कोरोना महामारी विरुद्धको लडाईंमा काँग्रेसले सरकारलाई पूर्ण साथ दिएको भन्दै सरकारले भ्रष्टाचार गर्दा सडकमा आउनुपरेको बताए।

‘ओलीलाई मैले हाम्रो पूरा साथ हुन्छ भनेको थिएँ। हामीले दशैँको तलब भत्ता पनि दियौं। तर कोरोनामा पनि घुस खाने भ्रष्टाचार गर्ने काम गरे,’ देउवाले भने, ‘ओली राजमा बलात्कार बढे। शून्य सहनशीलता भनेर निर्मला पन्तका हत्यारालाई अहिलेसम्म कारवाही भएको छैन। एकलौटी शासन गरेर लेख्न, बोल्न पनि बन्द खोजिरहेको छ। प्रजातन्त्रको रक्षा र कोरोना महामारी विरुद्धको लडाईका लागि हामी सडकमा आएका छौं। कम्युनिस्टबाट जनता आजित भइसकेका छन्। मुक्त पार्न देशभर आन्दोलन गर्छौं।’

काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे।   पौडेलले पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताएका छन्। सरकारले भ्रष्टाचारमा मुछिएका ठूला माछा सरकारले जोगाएको साना माछा मात्र पक्रेको भन्दै चर्को आलोचना गरेका छन्।

प्रदर्शनका क्रममा कैलालीमा पुगेर कांग्रेस नेता गगन थापाले भ्रष्टाचारको काण्डमा प्रधानमन्त्रीको संरक्षण रहेको बताएका छन्। नेता थापाले भ्रष्टाचारी खोज्न कहीँ नगई बालुवाटार र सिंहदरबार गए पुग्ने बताएका छन्।

‘काँग्रेसले चाहेको बेला सडक भर्न सक्थ्यो, त्यसबेला नजानेर नाआएको होइन, आउन नसकेर नआएको होइन, सरकारलाई मद्दत गर्न र जिम्मेवारी बुझेर नआएको हो।’ उनले भने, ‘सरकार संसदबाट भाग्यो, बालुवाटारको दुलोभित्र लुकेर बरालिएको सरकारलाई ठेगान लाउन कांग्रेस सडकमा आएको हो।’

‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो। सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ।’ नेता थापाले भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ।’

राजावादी आन्दोलन

प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेको प्रसंग निकाल्दै देउवाले राजा फर्केर आउने भ्रम नराख्न आग्रह पनि गरेका छन्।
उनले भने,‘सडकमा राजा आऊ, देश बचाऊ भन्दै कराइरहेका छन्। उनीहरुलाई त्यो हिम्मत कहाँबाट आयो?’

‘प्रजातन्त्रका लागि लड्दा राजाले त्यसबेला मलाई थुने। जेलमा राखे। अहिले राजा आऊ, देश बचाऊ भन्ने?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहँदैनन्। त्यसैले राजा आउने भ्रम नराख्नू।’

उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा केपी ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन्।
‘ओली सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ,’ उनले भने।

देउवाले भने, ‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो।’

संवैधानिक नियुक्तीमा आलटाल

संवैधानिक नियुक्तीमा अझै ४५ पद रिक्त रहेको भन्दै सरकारले त्यसमा आफ्ना मान्छे राख्नलाई अड्काएको कांग्रेस नेताहरुले आरोप लर्गाका छन्। ‘संवैधानिक निकायका नियुक्तीहरु लामो समयदेखि अड्किएका छन्।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘नियुक्तीमा पनि आफ्ना कार्यकर्ता मात्र भरेका छन्।’

पौडेलले संवैधानिक निकायहरु पनि सरकारको इसारामा चल्न थालेको बताएका छन्।

यस्तै चितवनमा पुगेर नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् ।

प्रदर्शनप्रति नरम सरकार

सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भएको कांग्रेसले दाबी गरेको छ। आन्दोलनमा सरकार पक्ष पनि नरम भएको देखिएको छ। कांग्रेसले प्रदर्शन सफल भएको दाबी गर्दैे देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई समेत दिएको छ।

सोमबार देशभर भएको प्रदर्शनमा कुनै पनि स्थानमा अप्रिय घटना भएन। सरकार संयमित हुँदा कुनैठाउँमा अप्रिय घटना हुन नपाएको हो।

यसले काँग्रेसको प्रदर्शनप्रति सरकारले नरम नीति लिएको देखिएको छ।

कोरोनाप्रति सचेत

सोमबार काँग्रेसले देशभर प्रदर्शनका लागि मानिसहरुलाई सडकमा आउन आव्हान गर्दैगर्दा काँग्रेसको आलोचना पनि भएको थियो। कोरोना महामारीका बेला मानिसहरुलाई सडकमा बोलाएर काँग्रेसले कोरोना संक्रमण फैलाउनमा सहयोग पुग्ने कार्यक्रम गरेको भन्दै आलोचना भएको छ। र काँग्रेसले सडक आन्दोलन नगरी बरु संसद अधिवेशनका लागि पहल गर्नुपर्ने भन्दै सामाजिक सञ्जालहरुमा काँग्रेसको आलोचना भएको छ। यसरी आलोचना गर्नेहरु काँग्रेस निकटकै पनि देखिए।

तर, काँग्रेस सभापति देउवाले शनिबार अपील जारी गर्दै मास्क लगाएर सामाजिक दूरी कायम गर्दै सडकमा आउन भनेका थिए। सोमबार सडकमा देखिएका प्रदर्शनकारीहरुको मुखमा मास्क बाक्लै देखियो तर सामाजिक दूरीको भने पालना नभएको पाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *