प्रतिष्ठित अखबारले जो बाइडेनकी पत्नीलाई ‘किड्डो’ भनेपछि हंगामा

डिसी नेपाल
३० मंसिर २०७७ १२:०९

काठमाडौं। अमेरिकाको एक प्रतिष्ठित अखबारले अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनलाई ‘किड्डो’ भनेपछि हंगामा भएको छ । चर्चित अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित एक लेखमा जिल बाइडेनलाई ‘किड्डो’ शब्दले सम्बोधन गर्नुका साथै उनीसँग आफ्नो नामको अगाडि डाक्टर लेख्न छोड्न समेत अपिल गरिएको छ । उनी उपचार गर्ने डाक्टर नभएको भन्दै यस्तो अपिल गरिएको हो ।

अखबारमा यो लेख प्रकाशित भएसँगै यसको निकै आलोचना भएको छ । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो लेखलाई ‘सेक्सिस्ट’ भनेका छन् । कैयौंले पुरुषलाई लक्षित गरेर यस्ता लेख नलेखिने तर महिला भएका कारण जिल बाइडेनलाई निशाना बनाइएको बताएका छन् । अखबारमा अमेरिकाको नर्थवेष्टर्न युनिभर्सिटीका पूर्व प्राध्यापक जोसेफ एप्सटिनले लेखेको लेखमा सुरुमा जिल बाइडेनलाई म्याडम फर्स्ट लेडी लेखिएको छ । तर, लेखको अन्त्यसम्म पुग्दा उनलाई मिसेज बाइडेन, जिल हुँदै किड्डोसमेत लेखिएको छ ।

जोसेफ एप्सटिनले जिलले नामको अगाडि डाक्टर लेख्नु पनि फर्जी लाग्ने बताएका छन् किनकि जिलले डाक्टर अफ एजुकेशनको डिग्री लिएकी हुन् । जिल बाइडेनकी संचार निर्देशक एलिजाबेथ अलेक्जेण्डरले लेखलाई ‘सेक्सिस्ट र लज्जास्पद’ भनेकी छिन् । जिलकी प्रवक्ता मिशेल लारोजाले अखबारले माफी माग्नुपर्ने माग गरेकी छिन् । उता अखबारको सम्पादकीय पेजका सम्पादकले भने जोसेफ एप्सटिनको बचाउ गरेका छन् । सम्पादकले लेखको आलोचना निकै सानो मुद्दा भएको बताउँदै जिलको टिमले यसमाथि राजनीति गरेको बताएका छन् ।

डेमोक्रेटिक पार्टीकी नेता हिलारी क्लिन्टनले यस विषयमा भनेकी छिन् ‘उहाँको नाम डाक्टर जिल बाइडेन हो । यसलाई स्वीकार गर्ने बानी बसाल्नुस् ।’ मार्टिन लुथर किंगकी छोरी बर्निस सिंगले ट्वीट गरिन् ‘मेरा पिता पनि एक गैर मेडिकल डाक्टर हुनुहुन्थ्यो र उहाँको कामले मानवतालाई धेरै लाभ पुग्यो । तपाईको (जिल बाइडेन) कामबाट पनि फाइदा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *