पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

डिसी नेपाल
३० मंसिर २०७७ १४:०४

वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ।

राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने भएको स्रोतले जनाएको छ।

निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उहाँले भने अस्वीकार गर्दै आएका छन्।

उनले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए। तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उनका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन्।

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ।

सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन्।

राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुगेका छन्।

उनले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *