९ महिनापछि पशुपतिको ढोका खुल्ला (फोटोफिचर)

डिसी नेपाल
१ पुष २०७७ १७:५२

काठमाडौं । कोरोना महामारी रोकथामका लागि गत वर्षको चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि बन्द रहेको पशुपति मन्दिर बुधबार बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएपछि भक्तजनका बुधबारदेखि दर्शन गर्न खुला गरिएको हो।

पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बिहान छ बजेदेखि दिउँसो एक बजेसम्म मन्दीरमा दर्शन खुला गरिएको छ । सामान्य पूजाआजा र दर्शनका निम्ति खुल्ला गरिए पनि साँझको आरतीमा भने सर्वसाधारणले उपस्थिति हुन पाउने छैनन् ।

अहिले मन्दिर प्रवेश गर्नका लागि पश्चिम गेटबाट प्रवेश गर्ने र बाहिरिने व्यवस्था मिलाइएको छ । गेटबाहिर जुत्ताचप्पल खोलेर राख्ने ठाउँ रहेको छ भने गेटभित्र प्रवेश गर्नेबित्तिकै स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

स्यानिटाइजर गरिसकेपछि थर्मल क्यामराबाट तापक्रम नापिन्छ। गेटभित्रबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार २ मिटरको सामाजिक दुरी कायम गरि मन्दिरसम्म पुग्ने व्यवस्था गरिएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

लामो समयपछि खुलेको पशुपतिनाथ मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजनहरुको बाक्लो उपस्थिति रहेका सदस्य सचिव प्रदिप ढकालले बताए । दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन्। यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने ढकालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *