मलेसियामा जेल परेका सात नेपालीको उद्धार, स्वदेश फर्काइयो

डिसी नेपाल
६ पुष २०७७ १२:२९

क्वालालाम्पुर। मलेसियाको जेलमा लामो समयसम्म बन्दी बनेर जीवन बिताउन बाध्य भएका एकजना महिलासहित सातजना नेपाली स्वदेश फिर्ता भएका छन्। उनीहरुलाई जनउद्वार केन्द्र मलेसियाको पहलमा उद्दार गरिएको हो।

मलेसियाको पेनाङ जुरु घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई शनिबार हिमालयन एअरलाइन्समार्फत स्वदेश फिर्ता गरेको जनउद्वार केन्द्र मलेसियाका केन्द्रीय अध्यक्ष केशु थापाले बताए।

जेलमा लामो समयसम्म बन्दी जीवन बिताएर स्वदेश फिर्ता हुनेहरुमा क्रमशः स्याङ्जाका लक्ष्मी नेपाली, धनगढीका बाबुराम गुरुङ, दोलखाका टीकाबहादुर सार्की, गोर्खाका दीपक बिश्वकर्मा , काभ्रेपलान्चोकका आशिष थापा, पर्बतका लालबहादुर सुनार र संखुवासभाका फुर्बु साङ्गे शेर्पा रहेका छन्।

उनीहरुलाई मलेसियाको कानुन उल्लंघन गरेको आरोपमा मलेसियन अध्यागमनले नियन्त्रणमा लिएको थियो। विभिन्न कारणले जेलमा बसेर मलेसियाको कानुनबमोजिम सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई परिवार तथा कम्पनीको आर्थिक सहयोगमा मलेसियाको कानुनी सम्पूर्ण प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गरिएको जनउद्दार केन्द्रका सचिव शंकरदेव आर्चायले बताए।

उनीहरुको टिकट २१ नोवेम्वर २०२० मा रहेको थियो तर उनीहरुमध्ये केहीलाई कोरोना संक्रमण भएपछि टिकट रद्द गरिएको थियो।

संखुवासभाका फुर्बु शेर्पाको टिकट अनलाइनबाट काट्दा प्राविधिक समस्या भएपछि जनउद्वार केन्द्र मलेसियाले त्यसको समाधान गर्दै टिकट व्यवस्थामा सहयोग गरेको थियो भने दुईजनाको टिकट कम्पनी र चार जनाको टिकट पीडितहरुका परिवार तथा आफन्तले सहयोग गरेको जन उद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *