पुस १७ देखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने
काठमाडौं। वैदेशिक रोजगार विभागले अनलाइबाटै पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। विभागले संसारका जुनसुकै कुनाबाट श्रमिकहरुले पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था यहि पुस १७ गतेबाट सुरु हुने गरी मिलाएको हो।
अब रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनःश्रम स्वीकृति लिन सक्ने छन् भने रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्ने छन्। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले पुनःश्रम स्वीकृतिका लागि स्वदेश फर्कनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानेले बताए। उनले सो व्यवस्थाले पुनः श्रम स्वीकृतिका नाममा हुने विकृति, विसंगति आदिको पनि अन्त्य हुने बताए।
हाल दैनिक सात सयको हाराहारीमा श्रम स्वीकृति लिन सर्वसाधारण श्रम कार्यालय पुग्ने गरेका छन्। अब अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा बढि श्रमिक लाभान्वित हुने निर्देशक नेउपानेले बताए।
पुनःश्रम स्वीकृति गत चार महिनामा करिब २५ हजारले लिएका छन् भने पाँच हजार नौ सयले नयाँ श्रम स्वीकृति लिएका छन्। यस्तै भीसा लिगलाइजेसनका लागि १४ सयले आवेदन दिएका छन्। विभागका अनुसार अब चाँडै नयाँ श्रम स्वीकृति लिने र लिगलाइजेसनका लागि पनि अनलाइनबाटै मिल्ने प्रविधि बन्ने छ।
अनलाइनबाट पुनःश्रम स्वीकृतिका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सकिन्छ। पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लोपटक र हाल प्राप्त गरको भीसा, रोजगार करारपत्र, जीवन बिमा, कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि मात्र पुनःश्रम स्वीकृति पाइने छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment