पिएमकप छनौट : काठमाडौं र भक्तपुर विजयी

डिसी नेपाल
२० पुष २०७७ १६:४२

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा काठमाडौं र भक्तपुर विजयी भएको छ । वाग्मती प्रदेश स्तरीय छनौट खेल अन्तर्गत त्रिभुवन विश्वविद्यालय किक्रेट मैदान (टियु मैदान)मा नुवाकोट र भक्तपुरबीच भएको खेलमा भक्तपुर ८ विकेटले विजयी भएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित ४० ओभरको खेलमा ३८ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३५ रन बनायो । नुवाकोटका लागि राजेश रिमालले ३६, आयुश बस्नेत २१, अभिराज यादब १४, पवन राई १० र साकार रावतले अविजित ११ रन बनाए । भक्तपुरका लागि बलिङमा सुसान श्रेष्ठ, सुभाष खत्री र कृष कार्कीले समान २–२ विकेट लिए । नविन यादव र धिरज अधिकारीले पनि भक्तपुरका लागि १–१ विकेट लिए ।

एक सय ३६ रनको लक्ष्य पछ्याएको भक्तपुर टोलीले ३२ ओभर २ बलमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भक्तपुरका लागि नविन यादव र अदित सुबेदिले समान ६०–६० रनको अविजित पारी खेले । अर्धसतकिय पारी खेल्ने क्रममा नविनले ९९ बलको सामना गर्दै ६ चौका प्रहार गर्दा ७६ बलको सामना गरेका अदितले ९ चौका प्रहार गरे । बलिङमा नुवाकोटका लागि अभिराज यादव र साकार रावतले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको अर्को खेलमा काठमाडौंले मकवानपुरलाई ७ विकेटले पराजित गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित ४० ओभरको खेलमा ३० ओभर १ बलमा अलआउट हुदै मात्र ७३ रन बनायो । मकवानपुरका लागि गौरव खडकाले १५ र युबिन बुढाथोकिले १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । मकवानपुरलाई सस्तैमा समेटन काठमाडौंका आरियो पौडेलले किफायती बलिङ गरे । उनले ७ ओभर एक बल बलिङ गर्दै मात्र १७ रन दिएर ५ विकेट लिए । काठमाडौंका लागि सन्जम रेग्मीले २ विकेट लिदा चन्द्र कुमार बुढा, सुमन उदय र ईशान पाण्डेले समान १–१ विकेट लिए ।

७४ रनको समान लक्ष्य पछ्याएको काठमाडौले २० ओभर २ बल खेल्दै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टोलीको जितका लागि ईशान पाण्डेले अविजित ३२ रनको योगदान दिदा जितेन्द सिंह ठकुरीले १४ रन बनाए । बलिङमा मकवानपुरका लागि राम नरेश गिरी, बिपुल खनाल र पियुश खनालले समान १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *