कोरोना दोस्रो लहर आए देशले ठूलो क्षति व्यहोर्छः विज्ञ

डिसी नेपाल
२२ पुष २०७७ १७:४१

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर आए नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन्। महामारीको पहिलो लहरबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ स्वरुपको भाइरस नेपाल भित्रिए झन खतरा उत्पन्न हुने विज्ञहरुको चिन्ता छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले मंगलबार ट्विटरमार्फत लापारबाही नगर्न चेतावनी दिएका छन्।

बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ स्वरुप झनै संक्रामक देखिएको छ। जसले गर्दा बेलायत लगायतका देशहरुले पूनः लकडाउन गर्न थालेका छन्। अन्य देशमा भुसको आगो जस्तै फैलिएको कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर विकसित मुलुक धेरै सचेत देखिएका छन्। बेलायतजस्तो बिकसित मुलुकले तेस्रो पटक लकडाउन गरेको छ र आफ्ना नागरिकलाई अत्यावश्यक काम नगरेसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।अहिले यो नयाँ स्वरुपको भाइसल हाम्रो छिमेकी मुलुक भारतमासमेत देखा परिसकेको छ। विश्वका ३७ भन्दा धेरै देशमा यो भाइरस फेला परेको छ।

नयाँ स्वरुपको भाइरसपछि विश्वभर फेरि लकडाउन गर्न थालिएको बेला नेपालमा भने लकडाउनका बेला बन्द गरिएका विद्यालय, जिम र सिनेमाहल सुचारु गर्न थालिएको छ। र राजनीतिक दलहरुका कार्यत्रहरु पनि धमाधम भइरहेका छन्। नागरिक समाजका नाममा पनि सडकमा मानिसहरुको भीडभाड हुने कार्यक्रमहरु भइरहेका छन्। यसरी सरकार र जनताकै तर्फबाट लापरबाही हुन थालेपछि सरुवा रोग विशेषज्ञ बास्तोलाले सामाजिक सञ्जालमार्फत नै चेतावनी दिएका हुन्।

‘‘अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं। कोरोना भाइरसको नयाँ प्रजाति र संभावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ’, उनले लेखेका छन्।

संक्रमणग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइनरआइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै नसक्ने उनको भनाई छ । कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न पनि उनले उनको सुझाव छ।

यस्तै जनस्वास्थ्य विज्ञ डा। रविन्द्र पाण्डे गत सेप्टेम्बरमा पनि विश्वका केही देशहरुमा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको बताउँछन्।

डिसी नेपालसँग कुरा गर्दै डा। पाण्डेले भने, ‘गत सेप्टेम्बरमा स्पेन, दक्षिण अफ्रिका र अमेरिकालगायतका देशहरुको कृषि फार्महरुमा देखिएको थियो। त्यो बेलामा नफैलिएका कारण यसलाई त्यतिधेरै महत्वका साथ हेरिएन। बेलायतको दक्षिणपूर्वी भागबाट फैलिएको कारण बाहिर आएको हो।’

‘पुरानो कोरोना भाइरस भन्दा ७० प्रतिशत बढी फैलिन सक्ने क्षमता राख्दछ,’ डा पाण्डेले भने, ‘यो भाइरस चाँडो फैलिने भएका कारण नेपालमा अस्पताल, स्वास्थ्यकर्मी लगायत जनजीवन पनि तहसनहस हुन सक्छ। हामीले बेलैमा यस्ता विषयमा सजक भएर, पुरानै स्वास्थ्य मापदण्डलाई अझै कडाइका साथ पालना गर्नु पर्छ।’

कोरोनाबाट बच्न आफैं आत्मअनुशासित हुनुपर्ने विज्ञहरु बताउँछन्। ‘हामीले आफैलाई आत्म अनुसाशित गरेनौं भने कोरोनाको पहिलो चरण भन्दा दोश्रो चरणमा अझ धेरै दुःख पाउँछौं। त्यसैलो राजनीति गर्ने नेता, उनीहरुको पछिलाग्ने हामी जनता सबैले बेलैमा बुद्धि पुर्याउनु आवश्यक छ। नत्र, पहिलेको भन्दा धेरै खतरा हुन सक्छ,’ जनस्वाथ्यविद पाण्डे भन्छन्।

नेपालमा डिसेम्बर १३ पछि करिव ३ सय जना बेलायतबाट नेपाल आएका छन्। नेपाल आएका मध्ये ५ जनामा पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वाब परीक्षणका लागि हङकङ पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले स्वाब परीक्षणको रिपोर्ट नआइसकेको बताए।

‘बेलायतबाट आएका ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ। उहाँहरुको स्वाबलाई बाहिर पठाइएको छ। हामीले जीन सीक्वाइन्सिङ गर्दैछौं,’ प्रवक्ता डा गौतमले डिसी नेपालसँग भने, ‘कोरोनाको पुरानै भाइरस छ वा नयाँ भाइरस छ भन्ने कुरा केहीपछि थाहा हुन्छ।’ डा। गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले बनाएका स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई अझै कडाइकासाथ पालना गर्नु पर्छ।

नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ।

यस्तै, हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९९ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *