व्यंग्य : राष्ट्रिय प्रहसन

साह्रै हँसिलो रसीलो र औषधिले शरीर समेत कसिलो बनाएर तरोताजा भएर आफूलाई सानोतिनो होइन कि ठूलै राजा सरह मान्दै, संविधान भन्ने पुस्तक आफ्नै तजबिजमा चल्ने बस्तु हो भनेर जान्दै, आफू सरहका अन्य नेताहरुलाई भुसुना सरहका ठान्दै, हरेक भाषण र सम्बोधनमा जानेसम्मको ब्यंग्यबाण हान्दै र अलिअलि हैसियत भएजस्तो लागेका नेता कार्यकर्तालाई पत्तो समेत नदिइ केन्द्रीय सदस्यमा तान्दै सरकार प्रधानले ज्यादै राम्रो तरिकाले सरकार सञ्चालन गरेकोमा जनताले आनन्द मानेका छन्।

यस्ता अभूतपूर्व सरकार प्रधान त देशले अहिलेसम्म पाएको कसैको जानकारीमा आएको छैन। यस्ता हरेक विषयका ज्ञाता,आफन्तहरुको लागि भरपर्दो दाता,अति ठूला बिचौलियाहरुका ज्यादै नजिकका नाता र सरकारी सम्पत्ति कौडीको भाउमा भोगचलन गर्न सक्नेहरुका सबै मौसमका भरपर्दो छाता बनेका हुनाले त्यस्ता वर्गकाहरुको अत्यन्त लोकप्रिय भएर अन्त कतै नगइकन बालुवाटारको हाताबाटै सबैलाइ डण्डा देखाउँदै र सबैतिर झण्डा गाड्दै अनि बिभिन्न खाले आश्वासन बाँड्दै र दलभित्रकै बिपक्षीहरुका जरा फाँड्दै देश र दुनियाँलाई मनोरञ्जन दिलाउन सक्नु चानचुने कुरा हुँदै होइन।

यिनले दाहिना हातको चोरी औँला बाँगो पारेर ठड्याउँदै आफ्ना बिरोधीहरुलाई नाँगो पार्न एकदम आकर्षक तरिकाले गरेको भाषण सुनेपछि आफ्नै घरको राशन खाएर यिनको आशन बलियो पार्ने प्रयासमा जनता लागिसकेका र यिनले जसोजसो भन्छन् त्यसै गर्न जनता जागिसकेका छन् अनि यिनका बिरोधीहरु यिनलाई देखि तर्सिएर भागिसकेका छन् भन्ने यिनको सोचाइलाइ सुन्ने जति सबैले ज्यादै सही हो भनेका छन् भन्ने यिनको ठम्याइ छ।

अदालतमा बिचाराधीन संसद पुनस्र्थापनाको मुद्दालाई पनि उनले अदालतको फैसला आउनु अघि नै अदालतले कुनै हालतमा संसद पुन: स्थापना  गर्दैन र उनले गरेको मौखिक फैसलामा अदालतको कुनै आवश्यकता पर्दैन अनि उनको बिरोधमा जान अदालतपनि अघि सर्दैन भनेर सार्वजनिक स्थानहरुमा उनले बताइसकेपछि के आधारमा अदालतले सुनुवाइ गरिरहेको छ भनेर जनतापनि जिल्ल परेका छन्।

उनले नै ठम्याइसकेपछि अरुले केही भनिराख्न पर्ने जरुरी हुनसक्ने अबस्था आउँदै आउँदैन र कसैले अन्यथा सोच्न पाउँदै पाउँदैन।
संविधानमा पढ्न र बुझ्न मिल्ने गरि संसद विघटनको ब्यबस्था नदेखिएपनि बिघटनको घोषणापछि आफ्नाे पक्षका कार्यकर्ता भेटघाट र अत्यन्त आकर्षक सम्बोधनमा सरकार प्रधानको सक्रियता देखेर यिनी शारीरिक रुपमा स्वस्थ भएको देखिएको हुनाले यिनको उपचार सही दिशामा गएको प्रष्ट हुन्छ।

दलमा आफूभन्दा ठूलो भाग खान हतारिएका र संसद विघटन पछि हामी यहाँ छौँ भनेर सडकतिर लतारिएका ठूला ठूला नेताहरुलाई यिनले गरेका कटाक्षलाइ नै यिनको दलले प्रशिक्षण कार्यक्रम भनेर ब्यापक प्रचार गरेको देख्दा जनताको नजरमा सबैको स्तर निकै तल झरेको छ भन्ने हावादारी हल्लालाई यिनले पत्याउने कुरै आएन।

देशका दुर्गम देखि सुगमसम्मका नेता कार्यकर्ताहरुलाइ बाटो खर्च,खानापिना खर्च,पकेट खर्च र दलमा बसेर संख्या बढी देखाउन अनि समर्थकमा नाम लेखाउन मद्दत गर्ने अलि टाठाबाठाहरुलाई गतिलै स्यावासी भत्ता समेत उपलब्ध गराएर आफ्नै सहकर्मी र सहधर्मीहरुको सत्तोसराप सहितको प्रशिक्षणले देशको समृद्धि र जनताको सुख निश्चित भएको जनताले महसुस गरेका छन्।

अर्को पक्षले पनि आफ्ना कार्यक्रमहरुमा सरकार प्रधानको सत्तोसराप गरेर आफ्ना पक्षमा लाग्नेहरुलाइ प्रशिक्षण दिएको देख्दा र सुन्दा उनीहरुलेपनि एउटै गुरुबाट दिक्षा लिएको हुँदा यिनीहरुबाट देश र जनताको लागि ठूलो शिक्षा मिल्ने निश्चित छ। दुवै पक्षका प्रशिक्षण हुन् कि भेला भनिएका कार्यक्रमहरुमा निकै ठूलामा गनिएका नेताहरुबाट ब्यक्त भएका गालिगलौज सुन्दा यिनीहरुको बौद्धिक स्तर हेर्दा देश हाँक्न खोज्नुभन्दा पहिले दल चलाउन र दलमा अलि सकारात्मक बिचार फलाउन सके दलमै एकअर्कालाई ढलाउन र आफ्नो नितान्त ब्यक्तिगत स्वार्थको लागि एकअर्कालाई गलाउन अनि देश र जनताको सेवामा बुद्धि पलाउन त्यति धेरै दिमाग खियाउन नपर्ला कि भन्ने जनताको बिचारलाइ पनि त्यति काम लाग्ने मान्न सकिन्न।

कोही स्वेच्छाले र कोहीलाई भेडाबाख्रा जसरी गोठाला लगाउँदै धपाएर जम्मा गरिएका कार्यकर्ताहरुको अगाडि कुरा चपाएर बोल्नुभन्दा सम्बोधनको उद्देश्य जे भएपनि टाढाबाट झिकाएर ल्याइएका कार्यकर्ताहरुको अगाडि अरुको नाम बिकाएर भएपनि भाषण अबधिसम्म टिकाएर राख्न नसके अर्कोतिर बिक्लान्, बाँकी रहेकाहरुले पनि त्यही सिक्लान्, दलमा बस्नको लागि अप्ठ्यारो माग झिक्लान् र जसरी पनि खुसी राख्न सके अलि लामो समयसम्म टिक्लान् भन्ने कोशिस गर्न परिहाल्यो।

अहिले माथिदेखि तलसम्मका नेता कार्यकर्ताहरु जता धेरै ज्याला पाइन्छ उतै लाग्ने र त्यही अनुसार जाग्ने अनि आफ्नो औकातभन्दा ठूलो हिस्सा माग्ने राजनीतिक खेतालामा परिवर्तन भइसकेका हुनाले कसैको भर पर्ने अबस्था पनि छैन भन्ने हल्लामा सत्यता हुनसक्छ भनेर जनताले चाहिँ पत्याएका छैनन्।

संघीय संसद विघटन भएपछि त्यसको असर बिस्तार प्रदेशमा छिरेको र जनताले भोट हालेको मूल्य तिरेको भन्दै प्रदेशकाले पनि यही घाँडो भिरेको देख्दा अब यो रोग सल्किँदै गएर स्थानीय तहका राजा महाराजाहरुले पनि आफ्नो असली रुप देखाउने अनि दुइतिहाइको निर्वाचित सरकारले इतिहासमा आफनो नाम सुनौलो अक्षरमा लेखाउने पक्का भएकोले यसलाई संसारका कसैलेपनि धक्का दिने प्रयास नगर्नै राम्रो होला।

आधा शताब्दी भन्दा लामो समयसम्म एक भएर सँगसँगै दुखसुख भोगेका त्यति माथिल्लो तहका ठानिएका र देश र जनताको बारेमा ज्यान दिनसक्ने भनेर मानिएका नेताहरु भागबन्डाले आफ्नो भुँडी भर्ने सवाल आएपछि कति तल्लो स्तरको बबाल मच्चाउन सक्ने रहेछन् भन्ने जान्न पाएर जनतापनि आफूले सदुपयोग गरेको भोटमाथि ज्यादै गौरवान्वित भएको हुनुपर्छ।

माछा कुहियो भने टाउकोदेखि गन्हाउन सुरु गर्छ भनेर एउटा कुन चाहिँ मुर्खले उहिले बनाएको उखानले सही बिषयलाई नै जनाएको रहेछ भन्ने अहिले सबैलाई लागेको हुनसक्छ।

गालीगलौजमा कोहीभन्दा कोही नेता कम नभएपनि सरकार प्रधानले सबैलाई माथ गरेको देखिएको हुँदा उनको तारिफ गर्दै सबैले साथ दिएका हुन्। उनले प्रयोग गर्ने भाषा, शब्द, वाक्य, उखानटुक्का, कथाकहानी, उदाहरण, हँस्यौली, ठट्यौली, ब्यंग्य आदि सुनेर र त्यसलाई मनमा गुनेर हेर्ने हो भने उनलाई दुइतिहाइसहित सरकार प्रधानको रुपमा चुनेर ज्यादै राम्रो काम गरिएछ भन्दै आफ्नो नाम अमर बनाउन सकेकोमा जनताले आफूलाई भाग्यमानी ठानेका र यिनै सरकार प्रधानले केही वर्ष सरकार हाँक्न पाएभने संसारकै मनोरन्जनात्मक सरकार भनेर गिनिज बुकमा नाम लेखाउन बेर लाग्ने थिएन भनेर जनताले मानेका अनि यसको लागि धेरै समय कुर्न नपर्ने बारे राम्रोसित जानेका छन्।

यति ठूलो प्रख्याती त यिनीभन्दा अगाडिका र पछाडिका कुनैपनि सरकार प्रधानले कमाउन, कसैले पछार्न नसक्ने गरी यत्रो स्तरमा खुट्टा जमाउन र कुरा सुनेर मनोरञ्जन गर्दै जनता रमाउन सक्ने सम्भावना छँदै छैन भन्न हिच्किचाउन पर्दैन।

यिनका भनाइ, भाषण,सम्बोधन र अन्तरवार्ताहरु सुनेर र हेरेर जनताले देशको लागि सबैभन्दा ठूलो सरकारी प्रहसन गर्न सक्ने तलमाथि अगाडि पछाडि कतै नहेरिकन जे मन लाग्यो त्यही बक्ने सरकार प्रधान पाएकोमा जनताले छातिमाथि ढुँगा राखेर मनोरञ्जन गर्दै खुसी मनाएका र ताली पिटेर एक्यबद्धता जनाएका छन्।

यिनको बोलिचाली र क्रियाकलापबाट हाँस्य कलाकार,हाँस्य कवि, हाँस्य ब्यंग्यकार, चुट्किलाकार आदि चाहिँ अविभावकको रुपमा यति बरिष्ठ ब्यक्तित्व पाएकोमा सबैभन्दा खुसी भएको पाइएको छ। हुनत यिनी सरहका यिनका दल र अन्य दलका बरिष्ठ नेताहरु पनि यिनिभन्दा कम नभएपनि यिनको स्तरका नभएकाले यिनलाई भेट्न र यिनले जति हँसाइ हँसाइ रेट्न सक्दैनन्।

देशको सरकार प्रधान नै आफ्नो अविभावक पाउँदा र उहाँमा यो स्तरको हाँस्यचेत आउँदा वर्ग विशेषले गर्व गर्नु स्वाभाविक हो। आफ्नो प्रहसन हेरेर र सुनेर बजेको तालीलाई यिनले आफ्नो राजनैतिक समर्थन र सफलता ठानेर अनि आफैलाई सबैभन्दा ठुलो प्रहसनकर्ता मानेर अघि बढ्दा लामो समयसम्म कार्यक्रमको निरन्तरता हुनेमापनि बिचार गर्न बिज्ञहरुको सुझाव छ रे भन्ने सुनिन्छ।

हुनत यिनका विज्ञ सल्लाहकार पनि यिनलाई पछ्याउँदै आएका र पछि यिनलाईपनि उछिन्ने तालिम पाएका प्रहसनकर्ता नै भएकाले सल्लाह सुझावहरुपनि प्रहसन सरह नै भएको पाइन्छ। राष्ट्र्यिस्तरमै त्यति ठुलाठुला प्रहसनकर्ता भएपछि र उनीहरुको कार्यक्रम ज्यादै लोकप्रिय हुँदै गएपछि आप्mनो रोजिरोटी गुम्ने खतरा देखेर वास्तविक हाँस्य कलाकारहरु डराएका छन् भन्ने पनि सुनिन्छ।

सरकार प्रधान त्यस्तै, उनका सहयोगीहरु त्यस्तै, दल नफुटाइकन चोइटिएर गएको समूहका पनि त्यस्तै, प्रमुख विपक्षी पनि त्यस्तै, अन्य बिपक्षीहरु पनि त्यस्तै, संघ प्रदेश र स्थानीय तहसम्मका सबै त्यस्तै पाएपछि र आफ्नो रोजिरोटीमा खतरा आएपछि डराउने अनि पेशाबाटै पलायन भएर हराउने सम्भावनालाइ नकार्न सकिन्न। आफ्ना नजिकका ब्यक्ति बाहेक अरुको रोजिरोटीको कुनै चिन्ता नभएका उच्च तहका नेताहरुलाइ हाँस्य कलाकारहरुको चिन्ता गर्ने फुर्सद हुने कुरै आउँदैन र आफ्नो हाँस्य कार्यक्रमले कसलाई के के असर पर्छ भन्ने उसले थाहा नै पाउँदैन।

देशको सरकार प्रधान नै आफ्नो अविभावक पाउँदा र उहाँमा यो स्तरको हाँस्यचेत आउँदा वर्ग विशेषले गर्व गर्नु स्वाभाविक हो। आफ्नो प्रहसन हेरेर र सुनेर बजेको तालीलाई यिनले आफ्नो राजनैतिक समर्थन र सफलता ठानेर अनि आफैलाई सबैभन्दा ठुलो प्रहसनकर्ता मानेर अघि बढ्दा लामो समयसम्म कार्यक्रमको निरन्तरता हुनेमापनि बिचार गर्न बिज्ञहरुको सुझाव छ रे भन्ने सुनिन्छ।

बिगत वर्षदिन जस्तोमा तीन चार चोटीमात्रै आफ्नो कार्यालय पुगेका सरकार प्रधानले सुशासन र स्वच्छ प्रशासन दिन र जनताले त्यसबाट आनन्द लिन केही कमी भएजस्तो चाहिँ देखिँदैन। भ्रष्टाचार र भ्रष्टाचारीलाई कुनै हालतमा नछोड्ने उद्घोष गरेर नाम चलेका र ठूलाठूला भ्रष्टाचारबाट फूले फलेकालाई आफ्नो सबैभन्दा नजिक राख्न सफल सरकार प्रधानले कुनै भ्रष्टाचारी बाँकी नराख्नेमा ढुक्क भए फरक पर्दैन।

अदालतमा बिचाराधीन संसद पुनस्र्थापनाको मुद्दालाई पनि उनले अदालतको फैसला आउनु अघि नै अदालतले कुनै हालतमा संसद पुन: स्थापना  गर्दैन र उनले गरेको मौखिक फैसलामा अदालतको कुनै आवश्यकता पर्दैन अनि उनको बिरोधमा जान अदालतपनि अघि सर्दैन भनेर सार्वजनिक स्थानहरुमा उनले बताइसकेपछि के आधारमा अदालतले सुनुवाइ गरिरहेको छ भनेर जनतापनि जिल्ल परेका छन्।

पुराना प्रधान न्यायमूर्तिहरु, न्यायमूर्तिहरु, पुराना र नाम चलेका कानुन ब्यबसायीहरु आदि सबैले संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्न पाइन्न भनेर विभिन्न माध्यमहरुमा बोलेका र सरकार प्रधानका बिरुद्ध मुख खोलेका देख्दा अचम्म लाग्छ। मुखैमा कानुन भएको दुईतिहाइको सरकार प्रधान भनेको जंगबहादुर वा चन्द्रशमशेर सरहकै व्यक्ति हो भनेर त्यति पुराना र बिद्वानहरुले समेत बुझ्न नसकेको देखेर त्यस्ताको बिद्वता माथि जनतालाई दया लागेको अनि त्यस्ताप्रति सहानुभूति जागेको छ।

आफ्नै दरवारमा बसेर देशमा शासन चलाउने र त्यहीँबाट आफ्नो र आफ्नाहरुको लागि राष्ट्र्यि ढुकुटीबाट नगद फलाउने राणाकालीन सरकार प्रधान सरह नै आफूलाई मानेको हुनाले नै संसदलाई घिसारेर तानेको भन्ने सबैले बुझ्न पर्छ। न्यायमूर्ति र न्यायकर्मीहरु नै सबैभन्दा बढी अन्याय गरेर धन कमाउने अनि अझ माथि पुग्न अदृश्य लिलाम बढाबढमार्तफ यस्तै नेताहरुलाई समाउने र न्याय क्षेत्रलाइ नै प्रभाव पारेर सिन्डिकेट जमाउनेमा पर्ने हुनाले उनीहरुको बोलिको खासै तौल हुँदैन भन्ने पनि सुनिन्छ। साँचो कुरो त के हो उनै जानुन्।

सबै टाउके नेताहरु मिलेर राष्ट्र्यि स्तरमै यति राम्रो प्रहसन देखाएर जनतालाई लामो समयसम्म मनोरन्जन दिलाउने र नितान्त ब्यक्तिगत स्वार्थमा मात्रै घाँटी मिलाउने नभए एकअर्कालाई गाली गर्न मुख चिलाउने गर्दागर्दै देशको भविष्यको यात्रा चाहिँ धेरै पछाडि पर्ने गरी सिलाउने काममा कोहि भन्दा कोही कम छैनन्। आफ्नै घुँडामा बन्चरो हानेर र यो आफैले गरेको हो भन्ने जानेर पनि यस्तै पत्रु नेता रुपी कलाकारहरुलाई ठूलो मानेर यिनीहरुको कलाविहीन राष्ट्रिय प्रहसन अझै कतिन्जेल हेर्न पर्ने हो थाहा छैन।
२०७७ । ९ । २४

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो