साउदीको मागपत्र एक हप्ताभित्र प्रमाणीकरण हुन्छ : परराष्ट्र सचिव पौड्याल

डिसी नेपाल
२३ पुष २०७७ १३:०६

काठमाडौं। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आगामी एक हप्ताभित्र साउदी अरबस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको प्रकृया सुरु हुने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक प्रतिनिधिमण्डलले बुधबार मागपत्र प्रमाणीकरणसम्बन्धमा परराष्ट्र सचिव पौड्यालको ध्यानाकर्षण गरेपछि उनले समयावधि तोकेका हुन्।

सरकारले श्रम स्वीकृति दिन सुरु गरेको ७ महिना भइसक्दा पनि साउदी अरबस्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण सुरु नगरेपछि व्यवसायी संघको एक प्रतिनिधिमण्डल परराष्ट्र सचिव पौड्यालको ध्यानाकर्षण गर्न परराष्ट्र मन्त्रालय पुगेको थियो।

साउदी दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपाली कामदारका लागि आउने नयाँ डिमाण्ड प्रभावित भइरहेको व्यवसायीहरुको गुनासो छ। रोजगारदाताहरू लामो बाटो तय गरेर मागपत्र प्रमाणीकरण गर्न दूतावास पुग्ने तर नेपाली दूतावासले नेपाली कामदार अझैपनि कोरोना भाइरसको जोखिममा रहनसक्ने भन्दै रोजगादातालाई फर्काउने गरेको व्यवसायीहरु बताउछन्।

रोजगारदातालाई अनावश्यक हैरानी दिइएका कारणले गर्दा साउदीका रोजगारदाताहरूले नेपाली कामदारको सट्टामा बंगलादेश र अफ्रिकी देशहरुबाट कामदार लिन थालेको व्यवसायीहरु गुनासो पोख्छन्। साउदीसहित युरोपेली देशमा पनि मागपत्र प्रमाणीकरणमा समस्या रहेको भएपनि बुधबारको छलफल साउदी अरबको समस्याको बारेमा मात्र केन्द्रित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *