कामदार नआउँदै क्यूभीसी सेवा नलिन आग्रह

डिसी नेपाल
२४ पुष २०७७ १६:०८

काठमाडौं। केही वैदेशिक रोजगार व्यवसायीहरुले कतार भीसा सेन्टर (क्यूभीसी)मा फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण दिनुपर्ने व्यक्ति काठमाडौं नआउँदै अनलाइन आवेदन गर्ने गरेका कारण काठमाडौंमा रहेका व्यक्तिहरु पालो पाउनबाट बञ्चित भएका छन्। क्यूभीसीले दैनिक एक सय ५० व्यक्तिहरुलाई सेवा दिने कोटा निर्धारण गरेको छ। त्यसका लागि अनलाइन एप्वाइन्टमेन्ट लिनुपर्छ।

कतिपय म्यानपावर कम्पनीहरुले काठमाडौं आइनपुगेको व्यक्तिको पनि अनलाइन एप्वाईन्टमेन्टका लागि आवेदन गर्ने तर तोकिएको समयमा क्यूभीसीमा उपस्थित नहुने गरेका छन्। त्यसकारण दैनिक अनलाइन एप्वाइन्टमेन्ट पाएकामध्ये करिब आधा व्यक्तिको मात्र फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण लिने काम हुने गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले बताए।

अनुपस्थित व्यक्तिले ठाउँ ओगट्दा काठमाडौंमा आएर फिङ्गर प्रिन्टलगायत वायोमेट्रिक विवरणका लागि पर्खिरहेका कामदारको समय र लगानी खेर गैरहेको भन्दै उनले वैदेशिक रोजगारमा जाने व्यक्ति काठमाडौंमा उपस्थित नभएसम्म अनलाइन एप्वाइन्टमेन्टका लागि आवदेन नगर्ने इमान्दारिता व्यवसायीले देखाउन आग्रह गरे।

क्यूभीसीले एक पटक अनलाइन आवदेन गरेको व्यक्ति तोकिएको समयमा नआए एक हप्तापछि मात्र आवेदन गर्न पाउने व्यवस्था गर्न लागेकोले कामदार आउने निश्चित नभएसम्म एप्वाइन्टमेन्ट लिँदा कामदारकै अहितमा हुने छ।

रोजगारका लागि कतार जाने नेपाली कामदारले भीसा, स्वास्थ्य परीक्षण, औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बीमा र भीसा प्रोसेसिङका काम क्यूभीसीबाट पाउने गरेका छन्। यस्तै, कामदारको सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि यहीँ पूरा हुने गरेको छ। यी प्रक्रिया पूरा भएपछि कतार पुगेलगत्तै नेपाली कामदारले कतारमा परिचयपत्र पाउने गरेको क्यूभीसीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *