‘कतिपय विषय अधुरा हुँदा अझ बढी सुन्दर र प्रीतिकर हुन्छन्’ – Dcnepal

‘कतिपय विषय अधुरा हुँदा अझ बढी सुन्दर र प्रीतिकर हुन्छन्’

‘नथिया’ उपन्यासका रचियता साहित्यकार सरस्वती प्रतिक्षा यो अपरिचति नाम होइन। पोखरामै फूलेकी प्रतिक्षाले नेपाली साहित्यको केन्द्रसम्म आफ्नो बलियो उपस्थिति बनाएकी छन्। महिला र समाजकाबारेमा विषेश कलम चलाउने प्रतिक्षाको परिचय साहित्यमा उपन्यासकार भनेरमात्र दिन सकिँदैन।

उनले बाल्यकालमा नै साहित्यको कविता विधामा आफूलाई प्रवेश गराएकी छन्। ११ वर्षको उमेरमा कविता लेख्ने कवियत्री प्रतिक्षाले पछिल्लो समय उपन्यासमा पनि आफ्नो कलमलाई चलाएकी छन्।

समाजमा रहेको बेथिती, महिलालाई गरिने सामाजिक विभेदका विषयमा कलम चालाउने प्रतिक्षाले वादी समुदायका महिलाको जीवन र उनीहरुको जीवन भोगाइलाई समेटेर नै नथिया उपन्यास लेखेकी छन्। उनै साहित्यकार प्रतिक्षासँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानी :

साहित्यले सरस्वतीद्वारा चल्ने कलमको कति वर्षसम्म प्रतीक्षा गर्नु परेको थियो? यहाँको पहिलो कविता कहिले र कसरी सिर्जना भयो?

म उमेरले ११ वर्ष हुँदासम्म कलमले प्रतिक्षा गरेछ। मैले पहिलो कविता कक्षा ७ मा पढ्दा लेखेकी हुँ। कविता के हो र कसरी लेखिन्छ भन्ने थाहा नहुँदाको बखत पहिलो कविता लेखियो। तुकबन्दी मिलाएर लेखिएको त्यो रचना कविता नै थियो कि थिएन?

अहिले चाहिँ म यकीनका साथ भन्न सक्दिन। तर आफ्ना केही मिल्ने साथीहरुलाई मैले पहिलोपटक कविता लेखेकी छु नि भनेर स्कुलमाथिको चौतारामा लगेर सुनाउँदाको त्यो पल र त्यो पलको रोमाञ्चकता अझै पनि महसुस गर्न सक्छु म।

साहित्यको बाटो डोर्याउने अभिवावक कसलाई ठान्नुहुन्छ, जसबाट साहित्यमा आउने प्रेरणा प्राप्त भयो?

म एउटा यस्तो परिवारमा जन्मिए, जुन परिवारको पृष्ठभूमिमा मभन्दा अघि साहित्यसँग कहिल्यै कोही जोडिएकै थिएन। कुनै व्यक्ति विशेषको प्रेरणाले भन्दा पनि मेरो आफ्नै अन्र्तमनको प्रेरणाले म यो क्षेत्रमा तानिएकी हुँ। म सानैबाट अलि कम बोल्ने अन्तरमुखी स्वभावकी थिएँ।

तर, आफूभित्र संवेदनाको तिव्रता भने निकै नै महसुस गर्थेँ। संवेदनाको तीव्रतम वेगलाई कतै न कतै व्यवस्थापन गर्न जरुरी थियो, नत्र त्यो भित्रभित्रै विष्फोटन भएर म विक्षिप्त हुनसक्थे।

उपस्थिति कम हुनुका अनेकन् सामाजिक, राजनीतिक, मनोवैज्ञानिक वा लैंगिक कारणहरु हुनसक्छन्। साहित्यमा मात्र होइन, राजनीतिमा होस् वा व्यापार व्यवसायमा, पत्रकारितामा वा कलाका अन्य विधामा, जहाँ पनि महिलाको उपस्थिति न्यून नै देखिन्छ।

मेरो निम्ति साहित्य त्यही व्यवस्थापनको अर्को नाम पनि हो। जसरी नदीका छालहरुले थाहै नपाइ किनारालाई चुमिरहेका हुन्छन्, मभित्रका नाम, अनाम छालहरुले थाहै नपाइ साहित्यलाई चुमेका हुन्।

नथियालाई यहाँले आफ्नो विश्वविद्मालयको संज्ञा पनि दिनु भएको छ। कसरी यसको सोच पलाएको थियो?

कवि थिएँ। कविता एउटा आवृत्तिलाई समातेर लेख्न सकिन्छ। कविताबाट उपन्यासमा आउन एकसाथ थुप्रै आवृत्तिहरुलाई समात्ने आँट तथा कला चाहिन्छ। कम्तिमा अर्को विधामा पाइला टेक्दा मलाई आफ्नै कवि व्यक्तित्वले नथिचोस् भन्ने थियो र केही जोखिम मोलेर काम गर्न इच्छुक थिए।

जोखिम मोल्ने आफ्नै अभीप्साले मलाई नथिया लेखाएको हो किन कि नथिया लेख्ने सोच बनाएको बेला वा लेख्दै गर्दा भविष्यमा आउन सक्ने सम्भावित चुनौतीहरुको मलाई आभाष थियो। सिंगो वादी सुमदायको अन्तरकुनाको गाथा लेख्दा खेरी यहाँसँग चुनौती त थुप्रै थिए पक्कै।
कस्ता कस्ता चुनौती आए।

चुनौती त नथियाका लागि सामग्री संकलन गर्दाको पलबाटै आए नि! कतिपय असुरक्षित लाग्ने ठाउँमा समेत ज्यान जोखिममा पारेर गएकी थिएँ, ता कि आफ्नो मेहनतमा कुनै कसर नछोडुँ! अन्य सबै खाले चुनौतीको कुरा भन्न थाले भने एउटा अर्को उपन्यास नै तयार हुन्छ। सो बारे विस्तृतमा कुनैबेला लेख्ने छु।

नथियाले त यहाँलाई सर्वोच्च अदालतसम्म पुर्यायो। कविता विधामा रमाइरहेकी प्रतीक्षालाई किन यहाँले नथियाको भुमरीमा पार्नु भयो? भुमरीबाट निस्की सक्नु भयो कि अझै बाँकी छ?

चिप्लो बाटोमा सजिलो जुत्ता लगाएर हिँड्दा यात्रामा के मज्जा आउछ र? मज्जा त तब आउँछ, जब खस्रो र अप्ठ्यारो बाटोमा नांगै खुट्टा हिँडिन्छ। एक–एक पाइलामा रोमाञ्चकता फिल हुन्छ। खुट्टाको डोब छोड्न मन पराउनेहरुलाई जुत्ताको लोभले छुँदैन। मेरो निम्ति नथिया भुमरीभन्दा पनि आफैले रोजेको त्यही खस्रो र अप्ठयरो बाटो थियो।

नथियाले एकदुइ थान गाली दिलायो। चारपाच थान प्रशंसा दिलायो। मानसिक रुपले नथिया लेखनले जुन चरम संतुष्टी र आनन्द दियो, मानसिक रुपले उत्तिकै बेचैन पनि बनायो किन कि नथियाकै कारण सर्वोच्च अदालतसम्म धाउन पर्यो।

यस मानेमा म एक भाग्यमानी लेखक पनि हुँ किन कि लेखकको एउटै किताबसित यति प्रचुर मात्राको अनुभव र अनुभूति जोडिनु भनेको लेखक अझ परिपक्व हुनु हो। मैले नथियाको कारण पाठकहरुबाट जति माया पाए, त्यो मायाको अगाडि मैले भोगेको अप्ठ्यारोपन केही पनि होइन।

नारीप्रति समाजको दृष्टिकोणका बारेको लेखन नथियाले पूरा गर्यो कि बाँकी नै छ? यदि छ भने नथियालाई वादी समुदायका महिलाको मात्र प्रतिनिधि कथा किन बनाउनु भयो?

नथिया निस्किएको केही समयपछि कक्षा ११ मा पढ्ने एउटा भाइको इमेल आएको थियो। उनले लेखेका थिए, ‘नथिया पढ्नु अघि म मेरी आमालाई जति माया र सम्मान गर्थे, नथिया पढिसकेपछि म आफ्नी आमालाई पहिलेको तुलनामा दोब्बर माया र सम्मान गर्ने भएको छु। पहिले आफ्नी आमाको ख्याल मात्र राख्थेँ, अहिले उहाँको विशेष ख्याल राख्न थालेको छु।’

यो उदाहरण किन दिएको भने एक लेखकको रुपमा मैले केही पाएकी छु भने यी र यस्तै पाठकहरुको निशर्त माया र सद्भावना हो। नथियामा एउटी वादी समुदायकी नारीलाई समाजले कति गलत ढंगले सम्म बुझ्न सक्छ र नारीहरुलाई कसरी सांस्कृतिक रुपमै अत्याचार गरिन्छ?

त्यसैको चिरफार गर्ने प्रयास गरेकी छु। एक लेखकको रुपमा मेरा आफ्नै सीमाहरु छन्। त्यही सीमाहरुका कारण वादी समुदायकी एउटी नारीको कथा मात्र पस्कन सकेँ। उत्खनन गर्न बाँकी अन्य सयौं अनि हजारौं कथाहरु लेखिँदै जालान् विस्तारै।

थोरै बाल्यकालमा फर्किने अनुमति चाहन्छु। बाल्यकालमा त्यस्ता केही घटनाहरु छन्, जसले साहित्यकार बन्न प्रेरित ग-याे?

आजभन्दा ४० वर्ष अगाडि मेरा बाबुआमाहरुले भागी विवाह गरेका थिए, त्यो पनि अन्र्तजातीय विवाह। बाबा थकाली र आमा उपाध्याय बाहुन। एउटा चिसो मेट्न काम गर्दा पनि चिया पिए झैं रक्सी पिउने हिमाली जनजातिको छोरा र अर्को तराईको लसुन प्याज समेत नखाने खाट्टी ब्राम्हण परिवारकी छोरी। उहाँहरुको कोखबाट हामीले जन्म त लियौं तर उहाँहरुको सम्बन्धको मूल्य बाल्यकालभरि चुकाउन प-याे।

थकालीहरुको जमघटमा जाँदा यसकी आमा त बाहुनी हो नि भनेर हामीलाई सधैं आउटसाइडरलाई जस्तो व्यवहार गरिन्थ्यो। बाहुनहरुको जमघटमा जाँदा यसको बाउ त थकाली हो नि भनेर त्यहाँ पनि हामीलाई आउटसाइडरलाई जस्तो व्यवहार गरिन्थ्यो। दुबैतिरबाट आउटसाइडरलाई जस्तो उपेक्षित व्यवहार गरिदा मुखले केही नबोले पनि मनमा धेरै नै हुण्डरी चल्थ्यो।

म को हुँ र कुन जात अनि समाजको हु भन्ने प्रश्नले निकै सताउथ्यो। अन्र्तमुखी स्वभावको हुनाले अरुहरुसित आफ्नो कुरा शेयर गर्न पनि सक्दिनथे र आफ्नो पीडा चुपचाप कापीमा पोख्थेँ। पीडालाई निकास गर्न मैले अपनाएको त्यो बाटो पछि गएर लेखनको निम्ति गरिएको अभ्यास सावित भइदियो। साहित्यमा धेरैले अनुभूति लेख्ने गरेको पाइन्छ। आजकलका फुटकर धेरैजसो लेखहरुमा लेखकका अनभव र अनुभूति पढ्न पाइन्छ।

तपाईँ आफ्ना नीति अनुभवहरुका बारेमा चाहिँ अलि कम बोल्न रुचाउने लेखक हो?

मेरो निम्ति अनुभव र अनुभूतिले जति अर्थ राख्छ, त्योभन्दा धेरै अर्थ विचार र दर्शनले राख्छ। आफ्ना अनुभव र अनुभूति सुनाउन त म जहिले पनि सक्छु, तर मेरा अनुभव र अनुभूतिसँगै ममा विचारहरुको घर्षण भइरहेको छ कि छैन भन्नेमा म सधैं सचेत हुन्छु। कतिपय अवस्थामा म आफ्नै अनुभव र अनुभूतिहरुलाई तटस्थ भावले हेर्छु र सोच्छु–मेरो बचाइमा कुनै दर्शन लुकेको छ कि छैन?

जीवनका स–साना घटनाहरुमा पनि गहिरो दर्शन लुकेको हुनसक्छ। मेरो लोभ त्यही दर्शनको पाटो कोट्याउनुमा छ। विचारको पत्र–पत्र केलाउनमा छ। जीवनरुपी पाठशालाको सिकारु विद्मार्थी हुँ अझै। आफ्ना अनुभव र अनुभूतिहरुको मन्थनबाट जे निस्कन्छ, त्यो विस्तारै सुनाउदै जाउँला नि!

नेपाली साहित्यमा महिलाको उपस्थिति कम हुनु र भए पनि कमै मात्र चर्चा हुनुको कारण के होला?

उपस्थिति कम हुनुका अनेकन् सामाजिक, राजनीतिक, मनोवैज्ञानिक वा लैंगिक कारणहरु हुनसक्छन्। साहित्यमा मात्र होइन, राजनीतिमा होस् वा व्यापार व्यवसायमा, पत्रकारितामा वा कलाका अन्य विधामा, जहाँ पनि महिलाको उपस्थिति न्यून नै देखिन्छ।

नेपाली साहित्यमा महिला साहित्यकारको चर्चा कम छ भन्ने कुरा चाहि म मान्न तयार छैन। अपवाद छोडेर यहाँ हरेकले आफ्नो प्रतिभा अनुसारको स्थान र चर्चा पाएकै छन्। आफूले साधना र मेहनत बेसक्याम्प जानसम्म मात्र गर्ने तर सगरमाथाको टुप्पोमा मेरो नाम किन छैन भनेर खोक्दै हिड्न पनि त हुन्न नि!

यहाँले जीवनका हरेक पाइलामा संघर्ष र क्रान्तिलाई नै फेस गर्दै आउनु भएको छ। साहित्यकार बन्दा जीवन क्रान्तिपूर्ण भयो कि जीवनमा भएका संघर्षले साहित्यकार बनायो?

सम्पूर्ण रुपमा ठीकठाक मान्छे लेखक बन्न सम्भव छ जस्तो लाग्दैन। लेखक बन्न कतै न कतै भत्कनैपर्छ, च्यातिनैपर्छ वा उध्रनैपर्छ। केही न केही कुराको अभावको चस्का उसमा हुनैपर्छ। कुनै न कुनै अधुरोपनाको रागमा ऊ डुब्नैपर्छ।

कहिले आफ्नै, आफ्नै नभए अरुका दुखहरुको अम्मली ऊ बन्नैपर्छ। यस अर्थमा मैले भोगेका आरोहअवरोहरु र लडेको लडाइले नै मलाई लेखनप्रति अझ बढी इमान्दार हुन सघाए भन्ने लाग्छ।

जीवनमा संघर्षको आफ्नै खाले मज्जा हुन्छ। असंतुलनहरुको पनि आफ्नै खाले सौन्दर्य हुन्छ। जीवनका एक र अनेकन असंतुलनहरुसित लड्डा लड्दै एउटा लेखक अझै बढी खारिन्छ, अझै बढी माझिन्छ। मेरो सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।

लेखेर जीवन जिउन कतिको सम्भव छ?

लेखेर जीवन जिउन असम्भव नै त नहोला तर एकदमै कठिन भने छ। दुखमसुखम दुई छाक भात नै खान त जसोतसो पुग्ला, तर त्योभन्दा बढी अन्य सोखहरु पूरा गर्न भने लेखकले हजारपल्ट सोच्नैपर्छ। पूर्णकालीन लेखक हुँ भन्नेहरुका पनि आम्दानीका नदेखिने अन्य दायाँबायाँ स्रोतहरु नभए टिक्न गाह्रो गाह्रो देख्छु, अरुको त झन् के कुरा गर्नु?

साहित्यको चास्नीमा डुब्दा के फाइदा र के बेफाइदाहरु अनुभूत गर्नु भयो?

थुप्रै मान्छेहरु पढ्छन्, जागीर खान्छन् वा व्यापार, व्यवसाय गर्छन्। पैसा कमाउँछन्। देश, विदेश डुल्छन्। उच्च पदस्थ भएर मान,सम्मान पनि ग्रहण गर्छन। तर मर्ने बेलासम्म पनि म भित्रैदेखि के काम गर्न चाहन्थेँ र के काम गर्दा म खुसी हुनसक्थे भन्ने बोध नै नगरी मर्छन्। यस्तोमा साहित्यको क्षेत्रमा लाग्दा मलाई भएको एउटै फाइदा चाहि मैले मेरो खुसी केमा छ भन्ने पत्ता लगाउन सकेँ।

लेख्दा वा पढ्ला मलाई जुन आनन्दको अनुभूति हुन्छ, त्यो आनन्द वर्णनातीत छ। वास्तवमै अलौकिक आनन्द, अलौकिक खुसी । बेफाइदाको कुरा गर्दा चाहि त्यस्तो ठूलै बेफाइदा केही महसुस गर्दिन। लेख्नका लागि केही कुराहरुको मूल्य चुकाएकी छु। बस् त्यति हो।

अन्त्यमा प्रतीक्षाले प्रतीक्षा गरेको नथिया कहिले आउँछ? मध्यान्तर पूरा भयो वा भएन?

शुरु गरिएका सबै कुराहरुको अन्त्य नै हुनपर्छ भन्ने छैन। कतिपय कुराहरु अधुरा हुँदा नै ती अझ बढी सुन्दर र प्रीतिकर हुन्छन्। लेख्दा लेख्दै बीचमै छोडिएको कुनै सुन्दर गीतको हरफ जस्तो, लाउँदा लाउँदै चटक्क छोडिएको कुनै मनोहर पिरतिको अधुरो श्वास फेराइ जस्तो–कतिपय कुराहरुको सौन्दर्य नै त्यसको टुंग्याउनी नहुनु हो। नथियाको मध्यान्तर पनि त्यस्तै एक अधुरो मध्यान्तर हो। बाँकी कुरा आफै बुझ्नुस्!

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो