पद्मश्री साहित्य पुरस्कार विजेता लेखक ज्ञवालीको दोस्रो कृति ‘अज्ञात’ बजारमा

डिसी नेपाल
२३ वैशाख २०८३ १५:३४

काठमाडौं। पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ लोकार्पण गरिएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित विशेष कार्यक्रममा मदन पुरस्कार विजेता लेखक एवम् पत्रकार मोहन मैनाली र लेखक ज्ञवालीले पुस्तक लोकार्पण गरे। कार्यक्रममा लेखक ज्ञवालीसँग मैनालीले अन्तर्संवादसमेत गरे।

उपन्यासको मुख्य पात्र मन्याको कथा पढिरहँदा पाठकलाई उसले हिँडेको बाटो पनि सँगसँगै यात्रा गर्ने हुटहुटी जाग्ने मदन पुरस्कार विजेता लेखक एवम् पत्रकार मोहन मैनालीले बताए। उपन्यास भएर पनि यहाँ राखिएका फुटनोटले इतिहासका विद्यार्थीहरूले पढ्ने पुस्तकसमेत बनाएको उनको भनाइ छ। लालित्यपूर्ण लेखन र घटनाको जीवन्त वर्णनले ‘अज्ञात’ विशेष बनेको उनले जनाए। ‘ऐतिहासिक उपन्यासलाई यति सुन्दर बनाउन सक्नु लेखक केशवराज ज्ञवालीको गजब काम हो,’ उनले भने।

पुस्तक पढिरहँदा पाठकले आफ्नै पुर्खाले भोगेको यात्राको अनुभूति गर्ने मैनालीले बताए। ‘म आफूलाई भाग्यमानी ठान्छु,’ उनले भने, ‘किनकि यति उत्कृष्ट कृति सार्वजनिक हुनुअघि नै पढ्न पाएँ।’

कार्यक्रममा लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको बताए। र त्यस क्रममा योगदान गरेका तर गुमनाम पात्रहरुको कथालाई आफूले उपन्यासमा उतारेको उनको भनाइ छ। ‘त्यो बृहत् अभियानका अनेकौं आयाममा नेपाली साहित्यमा प्रशस्त उत्खनन, लेखन भएको छैन। तीमध्ये त्यसमा संलग्न भुइँमान्छेहरूको गाथा पनि एउटा हो,’ लेखक ज्ञवालीले भने, ‘इतिहास लेखन र पठनको सिलसिलामा धेरै पटक राजा, सेनानायकको चर्चा भेटिन्छ। आम मान्छेहरू आकलझुक्कल आउँछन्। हाम्रा पुर्खा संलग्न भएको लडाइँ, जति सेनानायकहरूको थियो, त्यति नै वा त्योभन्दा बढी त्यो समयका भुइँमान्छेहरूको पनि थियो। उनीहरूको कथा ‘अज्ञात’ मार्फत मैले लेख्न खोजेको हुँ।’

ती मान्छे कस्तो जीवन बाँचे ? ती आम मान्छेको बलमा बनेको यो देशको सीमाले केकस्ता सङ्घर्ष र कष्टको साक्षी बस्यो भन्ने जानकारी पुस्तकले दिने लेखक ज्ञवालीको भनाइ छ। ‘त्यो लामो अभियानको सिलसिला नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा पुगेर रोकियो। नेपाल र अङ्ग्रेजबीचको युद्धको पहिलो लडाइँ नालापानीमा भएको थियो,’ उनले भने, ‘नालापानीको प्रसिद्ध लडाइँमा जनरल जिलेस्पीलाई मारेर त्यत्रो ठूलो फौजलाई रोक्ने योद्धा को होला ? उसले कस्तो जीवन बाँचेको होला ? त्यो योद्धामार्फत तत्कालीन समय चिन्ने, खोतल्ने तीव्र इच्छाको परिणति ‘अज्ञात’ हो।’
ऐतिहासिक आख्यानकारिता स्वैर कल्पना मात्रै नभएको ज्ञवाली बताउँछन्। ‘यो प्राप्त तथ्यहरूका आधारमा त्यो समयको सत्यसम्म पुग्ने प्रयास हो। यसले कल्पना र भाव मात्रै माग्दैन, सन्दर्भसामग्रीको गहन अध्ययन, स्थलगत भ्रमण र प्रस्ट नभएका ऐतिहासिक सन्दर्भको हकमा इतिहासकारहरूसँग लामो छलफल, तार्किक निष्कर्षमा पुगेर यो पुस्तक तयार भएको हो,’ उनले भने।

अज्ञातमा के छ ?

गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो। अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे।

यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ। आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ। सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ।

बाबुुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ- मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँवर सेनाको सानो टुकडी लिई बसेका हुन्छन्। अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ। उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ। तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ?

युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सूक्ष्म तरिकाले देखाइएको यो युद्धका साधन बनाइएका मानिसका दृष्टिबाट लेखिएको सशक्त उपन्यास हो, जुन शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *