अमेरिकाको संसद भवनमा आक्रमणपछि चीनले अमेरिकाको खिल्ली उडायो

डिसी नेपाल
२५ पुष २०७७ ११:१५

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले देशको संसद भवन क्यापिटल हिलमा आक्रमण गरेपछि यस विषयमा चीनले तीखो प्रतिक्रिया दिएको छ । चीनले यो आक्रमणलाई गत वर्ष हङकङमा भएको प्रदर्शनसँग तुलना गर्दै अमेरिकाको खिल्ली उडाएको छ । ६ जनवरीमा अमेरिकामा भएको आक्रमणमा ४ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

चीनले अमेरिकामा भएको आक्रमणलाई हङकङमा गत वर्ष भएको प्रदर्शनसँग तुलना गरेको छ । जुलाइ २०१९ मा हङकङमा लोकतन्त्र समर्थकहरुले सुरक्षाबलको घेरा तोड्दै संसद भवनमा प्रदेश गरेका थिए । हङकङको चीन समर्थित सरकारले न्याएको एक नयाँ कानुनको विरोधमा यो प्रदर्शन भएको थियो । अमेरिकासहित कैयौं देशहरुले हङकङका प्रदर्शनकारीहरुको समर्थन गरेका थिए ।

चीनले आफ्नो बयानमा अमेरिकामा छिटै शान्ति, स्थिरता र सुरक्षा बहाल हुने अपेक्षा गरेको छ । साथमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हु चुनयिंगले २०१९ मा हङकङको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेको विषयमा अमेरिकी मिडियाको प्रतिक्रिया पनि स्मरण गराएकी छिन् । चुनयिंगले भनेकी छिन् ‘जब २०१९ मा हङकङमा प्रदर्शनकारीहरुका कारण अव्यवस्था फैलिएको थियो त्यतिबेला अमेरिकी नागरिक र मिडियाको प्रतिक्रिया फरक किन थियो ? त्यतिबेला उनीहरुले हङकङका विषयमा कस्ता शब्द प्रयोग गरेका थिए र अहिले के गरिरहेका छन् ? अमेरिकी मिडियाले ट्रम्प समर्थकको प्रदर्शनलाई हिंसा, ठगी, अतिवाद र अरु के–के भनिरहेका छन् तर हङकङको दंगाको लागि उनीहरुले कुन शब्दको प्रयोग गरेका थिए ? सुन्दर दृश्य, लोकतन्त्रको लडाइँ…’

चिनियाँ मिडियामा पनि ट्रम्प समर्थकको उत्पातलाई लिएर तीखो टिप्पणी गरिएको छ । चीनको सत्तारुढ दल समर्थित अखबार ग्लोबल टाइम्सले अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई निशाना बनाएको छ । ग्लोबल टाइम्सले लेखेको छ ‘जब हङकङमा प्रदर्शन भएको थियो त्यतिबेला न्यान्सीले यसलाई सुन्दर दृश्य भनेकी थिइन् । अब हेर्ने बेला आएको छ कि के उनी क्यापिटल हिलमा भएको घटनाक्रमका विषयमा पनि यस्तै बोल्छिन् ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *