२४० जना थिए पीडित, १६ जना मात्र जीवित बाँकी रहँदा बल्ल पाए न्याय

डिसी नेपाल
२७ पुष २०७७ १३:००

काठमाडौं। दक्षिण कोरियाको एक अदालतले दोस्रो विश्वयुद्धका क्रममा जापानी सैनिकले यौनदासी बनाएका महिलाहरुको पक्षमा फैसला सुनाएको छ । तर, यो फैसला आउन दशकौं समय लाग्यो । सियोलको केन्द्रीय जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जापानले ती १२ जना महिलाहरुलाई प्रत्येकलाई ९० हजार डलर (१ करोड ६ लाख रुपैयाँ) दिनुपर्ने आदेश दिएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा जापानी सैनिकहरुले दक्षिण कोरियाली महिलाहरुलाई यौनदासी बनाएका थिए । यी महिलाहरुलाई ‘कम्फर्ट वुमन’ नाम दिइएको थियो । डेलीमेलका अनुसार एक दिनमा ५० जनासम्म जापानी सैनिकहरुले उनीहरुलाई बलात्कार गर्थे । कैयौं पीडित महिलाहरुलाई यौनरोग लागेको थियो । कैयौं महिला इच्छाबिना गर्भवती भएका थिए र मानसिक रुपमा प्रताडित भएका थिए । अदालतले फैसलामा महिलाहरुलाई यसरी यौनदासी बनाउनुलाई ‘मानवताविरुद्धको अपराध’ ठहर गरेको छ । पीडित महिलाहरुले २०१३ मा अदालतमा न्याय मागेका थिए ।

जापानले भने अदालतको फैसलाको विरोध गरेको छ । जापानले युद्धको हर्जानासम्बन्धी विषय १९६५ मा एक सम्झौतामा समाधान गरिसकिएको बताएको छ । तर अदालतले भने १९१० देखि १९४५ को बीचमा जापानले गैरकानुनी रुपमा कोरियाली क्षेत्रमा कब्जा गरेको र यही क्रममा महिलाहरुलाई यौनदासी बनाएको बताउँदै स्वायत्त देश भए पनि जापान मुद्दाबाट नबच्ने बताएको छ ।

यौनदासी बनाइएका करिब २४० महिलाको विवरण सरकारले दर्ता गरेको थियो । अहिले यीमध्ये १६ जना मात्र जीवित छन् । जुन १२ महिलाहरुले मुद्दा दायर गरेका थिए उनीहरुमध्ये पनि ८ जनाको मृत्यु भइसकेको छ । २० जना महिलाहरुले जापानविरुद्ध अर्को छुट्टै मुद्दा पनि दायर गरेका छन् जसको फैसला अर्को हप्ता आउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *