बाइडेनको शपथ ग्रहणमा ठूलै अशुभ घटना हुने आशंका, क्यापिटल हिल आसपास बम भेटिए

डिसी नेपाल
२७ पुष २०७७ १७:२५

काठमाडौं। अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा हुने शपथ ग्रहणका क्रममा ठूलै अशुभ घटना हुन सक्ने आशंका गरिएको छ । अमेरिकाको संसदमा अघिल्लो बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेका थिए जसमा ५ जनाको ज्यान गएको थियो । अहिले यो घटनाका विषयमा नयाँ खुलासा भएको छ ।

सीएनएनको रिपोर्टअनुसार त्यस दिन संसद भवनको केही दूरीमा एउटा ट्रक रोकेर राखिएको थियो । त्यो ट्रकबाट ११ वटा बमसहित केही हतियार बरामद गरिएका थिए । रिपोर्टका अनुसार यो सानो पिकअप ट्रक थियो । यसका मालिक अल्बामाका बासिन्दा हुन् । उनलाई गिरफ्तार गरिएको छ । ट्रकबाट ११ वटा होममेड बम, एउटा असाल्ट राइफल र एउटा ह्याण्डगन जफत गरिएको छ । रिपोर्टका अनुसार यी व्यक्तिको निशानामा तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी थिइन् ।

यी हतियार ट्रम्प समर्थक प्रदर्शनकारीहरुसम्म पुर्याउने तयारी भएको बताइएको छ । यही कारण ट्रकलाई क्यापिटल हिल नजिकै पार्क गरिएको थियो । यो विषयमा अनुसन्धान जारी छ । यो खुलासासँगै अमेरिकी सुरक्षा अधिकारीहरुले बाइडेनको शपथ ग्रहण समारोहका क्रममा पनि हिंसा फैलिन सक्ने आशंका गरेका छन् । वाशिङटन, जर्जिया, कान्सास, ओहियो, मिशिगन, क्यालिफोर्निया, कोलोराडो, उटाह, न्यू मेक्सिको, व्योमिंग र टेक्सास जस्ता राज्यमा सुरक्षा सतर्कता बढाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *