छोटो स्कर्ट लगाउँदिन भन्दा छात्रालाई विद्यालयले दियो धम्की
काठमाडौं। छात्राहरुले स्कुल कलेजमा पढ्नका लागि जाँदा धेरै छोटो स्कर्ट लगाएर कारवाहीमा परेका घटनाहरु हामीले धेरै सुनेका छौं । तर, बेलायतकी एक छात्रालाई भने छोटो स्कर्ट नलगाएका कारण विद्यालयले धम्की दिएको छ । सिहम हामुद नामकी १२ वर्षकी छात्रा छोटो स्कर्ट लगाउन चाहँदिनन् । उनी धेरै वर्षदेखि लामो स्कर्ट लगाउँदै आएकी छिन् तर स्कुलले अघिल्लो महिना नयाँ नियम ल्याएपछि उनलाई समस्या परेको छ ।
सिहमका पिता इदरिस हामुदका अनुसार डिसेम्बर महिनामा सिहमलाई हरेक दिन स्कर्ट फेरेर सही युनिफर्म वाला स्कर्ट लगाएर आउन भन्दै स्कुलबाट घर फर्काइन्थ्यो । तर, सिहमले हरेक पटक यसको विरोध गर्दै आफूले छोटो स्कर्ट नलगाउने बताइन् । अक्सब्रिज हाइ स्कुल नामको यो स्कुल बेलायतको मिडलसेक्समा छ । डेलीमेलका अनुसार स्कुल प्रशासनले सिहमका पिता इदरिस र आमा सलमालाई कारवाही गर्ने धम्की समेत दिएको छ । सिहम अनाधिकारिक रुपमा गयल भएको भन्दै उनीहरुलाई अदालतमा कारवाही अगाडि बढाउने स्कुलले बताएको छ ।
अहिलेलाई सिहमले लकडाउनका कारण घरबाटै पढिरहेकी छिन् । सिहमका अनुसार उनलाई स्कुलले उनको आस्थाका कारण प्रताडित गरिरहेको छ । सिहम मुस्लिम हुन् । सिहमलाई स्कुल जान मन पर्छ तर उनको धर्मका कारण स्कुलले आफूलाई अपनाउन नचाहेको उनको आरोप छ । सिहमका पिता इदरिसका अनुसार सिहमले अन्य छात्राहरुले भन्दा केही सेन्टिमिटर लामो स्कर्ट लगाउन चाहन्छिन् । तर, स्कुलले भने आधिकारिक युनिफर्म आपूर्तिकर्ताबाटै स्कर्ट लिएर लगाउनुपर्ने बताएको छ । यो स्कर्ट घुँडाभन्दा माथि हुन्छ ।
Facebook Comment