एनआरएनएले नेपालमा कोरोनाविरुद्धको खोप किन्न सहयोग गर्दै

डिसी नेपाल
१ माघ २०७७ १३:५७

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कोभिड–१९ विरुद्धको खोप भित्र्याउनको लागि पहल गर्ने भएको छ। एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा.सुधीर खनालसँग नेपालमा कोभिडविरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरेको हो।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्माले एनआरएनएले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल सरकारसँगको सहकार्यमा कोभिड–१९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गरे।

छलफलमा बोल्दै एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा.सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्र्याउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताए।
कार्यक्रममा बोल्दै डा.सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए। तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको उनको भनाई थियो।

उनले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने बताए। उनले नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई सुझाव दिए।

नेपालको आवश्यकता हेरेर मात्र खोप भित्र्यउनु पर्नेमा डा.खनालको जोड थियो। उनले नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने उल्लेख गरे। भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने उनले भनाइ थियो । भारत सरकारलाई नेपाललाई आवश्यक मात्रामा पुरा हुने गरि खोप उपलब्ध गराउन आग्रह गर्न सकिने बताए।

डा.खनालले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको समेत बताए। छलफलमा गैरआवासीय नेपाली संघ कोरियाका डा.देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले अघि बढ्न सकिने बताए। उनले विदेशमा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा खोप लैजान सक्ने प्रशस्त सम्भवना रहेको बताए।

एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने बताए। अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गैरआवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलब्ध गराउँदा उचित हुने सुझाव दिएका थिए।

कार्यक्रममा एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा.केशव पौडेल, सत्य चौधरी, भूमा लिम्बु, बिमला सापकोटा, डा.सगर पौडेलले नेपालमा खोपका सम्भवनाका बारेमा आ–आफ्ना भनाइ राखेका थिए। संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी गरेको छ। सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *