ट्रम्पका छोरी–ज्वाइँका सुरक्षाकर्मीलाई शौचालयमा समेत प्रतिबन्ध

डिसी नेपाल
३ माघ २०७७ १०:०१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इवांका ट्रम्प र ज्वाइँ तथा ह्वाइट हाउसका सल्लाहकार जारेड कुश्नरका सुरक्षाकर्मीहरुलाई शौचालयमा समेत प्रतिबन्ध लगाइएको खुलासा भएको छ । अमेरिकाका राजनैतिक रुपले प्रतिष्ठित व्यक्तिहरु बस्ने वाशिङटनको कालोरामा नेबरहुडमा रहेको इवांका र कुश्नरको निवासमा खटिएका सुरक्षाकर्मीलाई आफूहरु ड्युटीमा रहेको भवनका शौचालयमा प्रतिबन्ध लगाइएको हो ।

वाशिङटन पोस्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरी ज्वाइँलाई सल्लाहकार बनाएर ल्याएपछि उनीहरुको सुरक्षाका लागि खटाइएका सिक्रेट सर्भिस एजेन्टहरुलाई शौचालयको तनाव सुरु भएको थियो । इवांका र कुश्नरको आवासमा आधा दर्जन शौचालय भए पनि सुरक्षाकर्मीलाई ती सबै शौचालय प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध इवांका–कुश्नर दम्पतीले नै लगाएका थिए । आफूहरु खटिएको भवनमा भएका शौचालय प्रयोग गर्न नदिइएपछि सुरक्षाकर्मीहरुले शौचालयको खोजीमै महिनौं बिताउनुपरेको थियो ।

छिमेकीहरु र कानुन लागू गराउने अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार ती सुरक्षाकर्मीलाई मोवाइल शौचालय प्रयोग गर्नेदेखि नजिकै रहेको पूर्व राष्ट्रपति बाराक ओबामाको निवासमा रहेका शौचालय प्रयोग गर्न समेत भनिएको थियो । उनीहरुले केही टाढा रहेको उपराष्ट्रपति माइक पेन्सको निवासका शौचालय समेत प्रयोग गरेका थिए । महिनौंसम्मको कष्टकर स्थितिपछि उनीहरुले शौचालय त पाए तर त्यसका लागि मासिक ३ हजार डलर सरकारी पैसा खर्च गर्नुपर्ने स्थिति आयो ।

२०१७ सेप्टेम्बरदेखि संघीय सरकारले एउटा बेसमेन्ट स्टुडियो भाडामा लिएको छ जहाँ शौचालय पनि छ । शौचालयकै लागि कुश्नर परिवारका छिमेकीको घरमा रहेको यो स्टुडियो भाडामा लिइएको छ र अहिलेसम्म यसको भाडामा मात्र १ लाख डलर खर्च भैसकेको छ । ह्वाइट हाउसका एक प्रवक्ताले भने इवांका–कुश्नरले सुरक्षाकर्मीलाई शौचालयमा प्रतिबन्ध नलगाएको बरु सिक्रेट सर्भिसले नै उनीहरुलाई त्यहाँका शौचालय प्रयोग नगर्न भनेको दावी गरे । तर, एक अधिकारीले भने इवांका–कुश्नरले नै सुरक्षाकर्मीलाई शौचालय प्रयोग गर्न नदिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *