अनलाइनबाटै टिकट काट्न मिल्ने गरी काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

डिसी नेपाल
६ माघ २०७७ ९:०९

काठमाडाैं । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ। देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो। कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बससेवा शुरु गरेको हो।

काठमाडौँको बौद्धबाट साँझ ६ः३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७ः३० बजेमात्र काठमाडौँको लागि छुट्नेछ। प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए।

मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ। प्रालिले यसअघि नै काठमाडौँ–जनकपुर, काठमाडौँ–सुनौली र काठमाडौँ–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताए। रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । अहिले काठमाडौँबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *