नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

डिसी नेपाल
८ माघ २०७७ ११:२५

काठमाडाैं। मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गरेकी छन्।

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी हुन्।

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन्।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकाेमा प्रशंसा गरेका छन्। लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन्।

पुरानो मैत्रीलाई सबल तुल्याइने छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति वाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तरराष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गरेका छन्।

सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल–ंअमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपराष्ट्रपति ह्यारिसलाई बधाई सन्देश पठाउँदै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ तुल्याउन तथा नेपालको सङ्घीय संसद् र अमेरिकी संसद्बीच सहयोग अभिवृद्धि गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *