मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम प्रभावकारी

डिसी नेपाल
१० माघ २०७७ १८:४६

रुकुम (पूर्व) । रुकुम(पूर्व)मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रम तीनवटै स्थानीय तहमा प्रभावकारीरूपमा सञ्चालन भइरहेको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्लाको सिस्ने गाउँपालिकामा सम्पन्न जिल्ला समन्वय समिति र स्थानीय तहसँगको अन्तक्रिया कार्यक्रममा सहभागीले कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्न ठूलो मद्दत पुगेको बताएका छन् । आर्थिक अवस्था कमजोर भएको विपन्न परिवार लक्षित वर्गका समुदाय, घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यका साथ लागू गरिएको सो कार्यक्रम लाभदायी भएको बताइएको छ ।

कार्यक्रममार्फत गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सीप विकासका कार्यक्रम, कृषि उत्पादन, पशुपालन, लक्षित वर्गको क्षमता वृद्धि र सशक्तीकरण गरी स्वरोजगारी तथा आयआर्जनका क्रियाकलापलाई जोड दिइएको जिल्लाका तीनवटै पालिकाले जनाएका छन् ।

यस्तै कृषि, पशु सामाजिक संरक्षणसम्बन्धी कार्यक्रमअन्तर्गत असहाय अशक्त, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालन गरी कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई सहयोग गर्नुका साथै आर्थिक अभावका कारण उपचार नपाएर समस्यामा परेकालाई शिविरको आयोजना गरी निःशुल्क उपचार गरिएकोजस्ता कार्यक्रम प्रभावकारी भएको उनीहरुको निष्कर्ष छ ।

जिल्लामा यो कार्यक्रम कसरी कार्यान्वयन भइरहेको छ ? समस्या चुनौती के–के छन् ? जस्ता विषयको पहिचान गरी सल्लाह, सुझाव लिनका लागि आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा सहभागीले दुर्गम जिल्ला भएकाले जनताका माग र आवश्यकतानुसार कार्यक्रम सञ्चालन भइरहेको पालिकाले जनाएका छन् । अहिले टुक्रे योजना बनाएर काम गर्दा बजेटको बढी आवश्यता पर्ने भएकाले बजेटको आकार बढाउन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण दुवाडीसमक्ष माग गरिएको छ ।

गाउँपालिकामा अहिले वार्षिक रु ६० लाख बजेट प्राप्त हुने गरेको छ । सोही बजेट परिचालन गरी पालिकाले काम गरिरहेका छन् । बेपत्ता पारिएका व्यक्ति, घाइते अपाङ्ग, शहीद परिवारलाई कार्यक्रममा समेट्न पनि आग्रह गरिएको छ ।

यसैबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दुवाडीले जिल्लामा यो कार्यक्रम सन्तोजनकरूपमा सञ्चालन भइरहेको पाइएको र यहाँका जनताको आवश्यकता र मागलाई मध्यनजर गरी अगाडि बढ्ने बताए । सरोकारवाला निकायबाट उचित सल्लाह, सुझाव आएको र अब सोहीअनुसार छलफल गरेर कार्यक्रमलाई थप व्यवस्थितरूपमा सञ्चालन गर्ने उनको भनाइ छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *