माधव नेपालसँगको ‘भनाभन’बारे नारायणकाजीले मुख खोले

डिसी नेपाल
१० माघ २०७७ २२:११
24.4k
Shares

काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शन र विरोधसभामा मञ्चमा रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र अध्यक्ष माधवकुमार नेपालबीच ‘भनाभन’ भयो। यो भनाभनको भिडियो शनिबार भाइरल नै बनेको छ। उनीहरुबीच के कुरामा विवाद भएको स्पष्ट नभइरहेका बेला श्रेष्ठले यो विषयमा मुख खोलेका छन्।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आन्दोलन संघर्ष समितिलाई जानकारी नै नदिएर कार्यक्रम परिवर्तन गरिएकाले आफूले कुरा उठाएको उल्लेख गरेका छ। उनले भनेका छन्, ‘हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो। जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो। त्यसो गरिनु हुँदैनथियो। संस्थागत कार्य प्रणालीको वारेमा सबै नेतृत्वदायी कमरेडहरुको गंभीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो।’

श्रेष्ठले विधिपद्धति निर्माणमा शुरुदेखि नै लाग्नुपर्ने भन्दै शुक्रबारको घटनालाई आफूले संघर्ष गरेको र विधिपद्धति सबैले मान्नुपर्नेतर्फ संकेत गरेका छन्। स्मरण रहोस प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओली विधि र पद्धतिअनुसार नचलेको भन्दै प्रचण्ड–माधव समूहले ओलीको विरोध गर्दै आएको थियो। र माधवकुमार नेपालले सँधै विधि र पद्धितको कुरा गर्दै आएका छन्। प्रतिनिधिसभा विघटन गरेपछि त नेकपा दुई समूहमा विभाजन नै भएको छ। एक समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ भने अर्को समूह प्रतिनिधिसभा विघटनको बचाउ गर्दै चुनावको तयारीमा जुटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *