जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

डिसी नेपाल
१४ माघ २०७७ १३:०५

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकीछन्।

राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन्।

जुम्लाको गोठीगाउँमा भएको आगलागीबाट दुइ दर्जनभन्दा बढी घरसहित अन्‍नपात र पशुपंक्षीको क्षति भएको थाहा पाउँदा मलाई दु:ख लागेको छ।अग्नीपीडितहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गराउँदछु।

— Bidya Devi Bhandari (@PresidentofNP) January 27, 2021

जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार रातिदेखि लागेको भीषण आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि सदरमुकामबाट सुरक्षाकर्मी घट्नास्थलमा पुगेपनि अहिले पनि नियन्त्रणमा आएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार मंगलबार रातीबाट आगलागी शुरु भएको थियो। आगलागीको खबर आउनसाथ जिल्लाबाट सुरक्षाकर्मीहरु गएका थिए। सो टोलीले रातीबाटै आगो निभाउने प्रयास गरेको भएपनि फुसका घर भएका कारण आगो झन सल्केर बढेको थियो।

पानीको अभाव र हावा बढी लागेका कारण आगो झन फैलिएको थियो। आगलागीबाट चौपायहरुको मृत्यु भएको तर मानवीय क्षति भने भएको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट पनि सरकारी अधिकारीहरु त्यहाँ पुग्न लागेको छ। सदरमुकामबाट करिब ३ घण्टाको दुरीमा रहेको सो स्थानमा ५० वटा जति फूसका घरहरु रहेको पनि प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *