सम्पत्तिकै लोभमा काकाकै छोराबाट मारिए राजेन्द्र यादव

डिसी नेपाल
१४ माघ २०७७ २०:५४

काठमाडौं। रुपन्देहीमा एक साताअघि भएको एउटा हत्याकाण्डमा पारिवारिक संलग्ता रहेको खुलेको छ। रुपन्देहीको सियारी–२ का राजेन्द्र यादवको हत्या सम्पत्तिको लोभमा उनकै परिवारका सदस्य मध्ये काका र काकाका छोराहरुले गराएको प्रहरीले जनाएको छ। ३४ वर्षे यादवलाई सम्पत्ति दिनुपर्ने भएपछि आफ्नै कान्छो बुवा र उनका छोराहरू मिलेर हत्या गराएको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन्।

सियारी–२ बेथरीमा डेरागरी बस्ने ३४ वर्षीय यादवको गत माघ ६ गते मायादेवि गाँउपालिका–७ गरगट्टी स्थित खेतमा जलाएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। त्यसपछि प्रहरीले गरेको अनुसन्धान अनुसार यादवकै काका र काकाका छोराहरुले नै हत्या गरेको भेटिएको हो।

प्रहरीले हत्या आरोपमा राजेन्द्रका काका, काकाका छोरा र सम्धीसहित ६ जनालाइ पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ। प्रक्राउ पर्नेमा सियारी २ बस्ने राजेन्द्रका कान्छो बुवा रामवेलाश यादव, काकाका छोरा भाई बिरेन्द्र यादव, मुख्य योजनाकार बुद्धिराम कोहार, कबुल लिने सन्त कुमार यादव, राकेश यादव र अफताव मुसलमान छन्। हत्यामा संलग्न लङगारे भन्ने इन्द्रजित यादव र सोनु मुराउ फरार रहेको र खोजी भइरहेको प्रहरी प्रमुख एसपी पोखरेलले बताए। उनका अनुसार इन्द्रजीत यादव र सोनु यादवलाई पैसा दिएर राजेन्द्रको हत्या गराइएको थियो।

प्रहरीका अनुसार रामवेलासले आफ्नै दाइको छोराको हत्याका लागि हत्या पश्चात २५ लाख वा १ कठ्ठा जग्गा दिने बचन दिएका थिए। मुख्य योजनाकार बुद्धिराम कोहारलाई पहिलो पटक २०हजार र दोश्रो पटक ५० हजार रकम दिएका थिए। राजेन्द्रलाई मार्ने योजना बनेपछि मृत्तकका भाइ बिरेन्द्रले उनीसँगै मदिरा सेवन गरी बिभिन्न बहानामा नौतनवा पुर्याएका थिए। सन्तकुमार र सोनु मुराउ पनि मोटरसाइकलमै नौतनवा पुगेको प्रहरीको दावी छ।

राजेन्द्रलाई मार्ने योजना अनुरुप उनीहरुले पाइप, लाइटर र निद्रा लाग्ने औषधि भारतमै किनेका थिए। नेपाल आएपछि पुनः मदिरा सेवन गर्ने निहुँमा राजेन्द्रको मदिरामा निन्द्रा लाग्ने ओषधि मिसाइ खुवाएको प्रहरीले जनाएको छ।

सन्तकुमार सोनु र बिरेन्द्रले अर्धचेत रहेका राजेन्द्रलाई मोटरसाइकलमा घटना स्थललगी पहिले घाटी कसेर छातीमा थिचेको र मट्टीतेल छर्केर शवमा आगो लगाइ हिँडेका थिए। एसपी पोखरेलका अनुसार राजेन्द्रका बुवा रामशुभग यादवको ३२ बर्ष अघि सर्पको टोकाइबाट मृत्यु भएको थियो।

श्रीमानको मृत्यु भएपछि उनकी आमाले देवर (राजेन्द्रका काका)सँग विवाह गरेकी थिइन्। त्यतिबेला राजेन्द्र जम्मा २ वर्षका थिए। १५ बर्षको उमेरमा उनी मजदुरी गर्न भन्दै भारतको मुम्बइ गएका थिए।

राजेन्द्र लामो समय उतै थिए। उनी दुई वर्ष अघि घर फर्केपछि उनले आफनो अंशको सम्पत्ति माग्दा पारिवारिक कहल बढ्दै गएको थियो। ‘राजेन्द्रकी आमाले देवरसँग विवाह गरेकी रहिछन्। राजेन्द्र धेरै वर्ष भारत बसेर आएको देखिन्छ। जब उनी आएर आफ्नो अंश दावी गरे त्यसपछि उनको हत्या योजना बनेको अनुसन्धानबाट खुलेको छ’, एसपी पोखरेलले भने।

काका र उनका छोराहरुले अंश नदिएपछि राजेन्द्रले २०७६ मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले २९ कठ्ठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो। तर सोही जग्गा नदिन काका र भाई मिलेर राजेन्द्रको हत्या योजना बनाएर हत्या गरेको प्रहरीको दावी छ। ‘दाजुको छोरालाई अंश दिनुपर्ने भएपछि बुद्धिराम कोहारलाई पैसा दिएर हत्या गराएको खुलेको छ’, एसपी पोखरेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *