वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द : अध्यक्ष ठाकुर

डिसी नेपाल
१७ माघ २०७७ २३:३६

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन्।

राष्ट्रिय इञ्जिनीयर सङ्घको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका हुन्।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उनी ठूलो राष्ट्रद्रोही ठान्छन् भने। उनले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन नसकेको बताए।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइ सक्नुभएको आरोप लगाए। सङ्घका अध्यक्ष भगवान् झाको अध्यक्षतामा भएको सो समारोहमा जनता समाजवादी पार्टीका नेताहरू शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायतले सङ्कटको समाधानमा सबैको पहल आवश्यक रहेको धारणा राखेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *