मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो : उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
१९ माघ २०७७ १३:३१
48
Shares

नुवाकाेट। उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन्। सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गरे।

“तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन। निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन्। दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन्। गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”, उपप्रधानमन्त्री पोखरेलले भने।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए। उनले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिए।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *