राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने: बुर्लाकोटीको संयोजकत्वमा समिति गठन

डिसी नेपाल
१६ साउन २०८३ ९:०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ‘अन्तर्राष्ट्रिय युवा दिवस २०८३’ विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार सन् १९९९ देखि हरेक वर्ष अगस्ट १२ मा यो दिवस मनाइँदै आइएको छ।

यही परम्परालाई पछ्याउँदै गत साउन १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई यस वर्षको मूल आयोजक समितिको संयोजक तोक्ने निर्णय गरेको हो।

गठित आयोजक समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद तथा युवा नेताहरूको व्यापक सहभागिता रहेको छ।

जसमा हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर र भरत केसी सदस्य रहेका छन्। यसका साथै सबै सातवटै प्रदेशका प्रदेश सभापतिहरूलाई समितिको पदेन सदस्यका रूपमा समावेश गरिएको छ।

पार्टीले केन्द्रीय तहदेखि सातै प्रदेश, जिल्ला र पालिका स्तरसम्मै दिवसलाई भव्यताका साथ मनाउने तयारी अघि बढाएको छ। साउन १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले प्रदेश सभापतिहरूलाई पत्राचार गर्ने, प्रादेशिक तहमा समन्वयका लागि जिम्मेवारी तोक्ने र आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ।

दिवसका अवसरमा ‘संसदसम्म युवाको आवाज’ शीर्षकमा अन्तरसंवाद, ‘इन्स्पायरिङ म्यासेज’ प्रतियोगिता, राष्ट्रव्यापी सरसफाइ अभियान, खेलकुद, रक्तदान तथा विभिन्न समसामयिक विषयमा नीति मन्थनजस्ता रचनात्मक कार्यक्रम आयोजना गर्ने तयारी छ। बैठकमा तोकिएका जिम्मेवार सदस्यहरूले आवश्यक गृहकार्य गरी आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्ने सहमति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *