कवि शरद पराशर मरहट्टाको “यता कि उता” लाई नियाल्दा

नारायण भट्टराई
१६ साउन २०८३ १०:०७

रेल सान फ्रान्सिस्को डाउनटाउनतर्फ दौडिँदै गर्दा मेरा आँखा शरद पराशर मरहट्टाको काव्यकृति ‘यता कि उता’ को काव्यात्मक गहिराइभित्र डुबुल्की मार्दै थिए।

कवि शरदसँग मेरो भेट ‘बाङ्गा अक्षरको मझेरी’ मा आयोजित बाङ्गा कविता वाचनमा भएको थियो। त्यसैले मलाई लाग्यो, यो कृति पनि हास्यव्यङ्ग्य कवितासङ्ग्रह नै हो। हुन त कवितासङ्ग्रहको नाम ‘यता कि उता’ ले पनि त्यो अनुमानलाई मलजल गरेकै थियो।

तर सङ्ग्रहभित्र पौडिँदै जाँदा महसुस भयो- कविताहरूले सिधै व्यङ्ग्यको बाण प्रहार गर्दैनन्, बरु मझधारका मानिसको विरोधाभासपूर्ण जीवन-अनुभूतिहरूलाई सरल र सुबोध शैलीमा सटिक काव्यकुण्डहरूमा पोखिदिन्छन्।

जहाँ विचरण गर्ने म जस्ता मझधारका पाठकलाई शब्दचित्रमा आफ्नै जीवनको भूत र वर्तमानको चलचित्र हेरेको अनुभूति हुन्छ। छुटेका दशैँहरू, टुटेका र फुटेका सपनाहरू, बिर्सन खोज्दा खोज्दै नबिर्सिएका स्मृतिहरू, उताका छोडिएका सम्बन्धहरू, यताका जोडिन हच्किएका सम्बन्धहरू, खुसी खोज्न दौडँदा दौडँदै मुस्काउन बिर्सिएका मानिसहरू- सबै स्मृति, विस्मृति र अनुभूतिहरू कविताहरूमा कतै तैरिएका छन् त कतै डुबेका छन्।

कविता कस्तो हुनुपर्छ? यसको एउटै उत्तर सायद छैन। सिर्जनाको कुनै निश्चित नियम हुँदैन; खासमा नियम तोड्नु नै नवीनतम सिर्जना जन्मिनु हो। कविता कस्तो भयो भन्दा पनि कविताले पाठकलाई कसरी प्रभावित पार्न सक्यो, त्यो कुरा बढी महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ।

कविता त्यति बेला बोल्छ, जब यसको भाषा, शैली र विषयले मनको भित्री कुनासम्म छुन्छ। मलाई कवि शरदका कविताले धेरै पटक छोए, किनकि म यताको पनि मान्छे, उताको पनि मान्छे। कविताहरूले मलाई बाल्यकालमा पुर्‍याए, वर्तमानको व्यस्त जीवनमा फर्काए। म भूत र वर्तमानमा पिङ खेलिरहेँ। कविताले मेरा जन्मदातालाई सम्झाए, मेरो जन्मभूमिलाई सम्झाए अनि मेरो विभाजित अस्तित्वलाई आभास गराए।

डायस्पोरिक सिर्जनाको महत्त्वपूर्ण विशेषता भनेको ‘स्मृति’ हो। स्मृतिको यान चढेर कवि पराशर कहिले बन्दीपुर पुगेका छन् त कहिले नारायणी, अनि कहिले भानुको सम्झनामा तनहुँ। आफू जन्मे-हुर्केको देश र माटोप्रतिको अगाध माया अनि स्नेह कविताका हरफहरूमा जताततै छताछुल्ल पोखिएका छन्। भौतिक रूपमा टाढा हुनु भनेको भावात्मक रूपमा झन् नजिक हुनु हो- यो यथार्थलाई कविताहरूले सुन्दर ढङ्गले चित्रित गरेका छन्।

तल्लो बाटो भएर विदेशिने नेपालीका पीडादेखि देशमा रहेका विकृति र विसङ्गतिप्रति कटाक्ष गरिएका कविताहरूले कविको राष्ट्रप्रेमको भावनालाई उजागर गरेका छन्। त्यस्तै गरी ‘खोइ! हामी कहाँ बहादुर भयौँ’ शीर्षकको कवितामार्फत कविले ‘बहादुर नेपाली’ भन्ने प्रचलित कथनप्रति व्यङ्ग्य छेडेका छन्।

यसै गरी, कवि पराशर प्रकृतिप्रति पनि उत्तिकै संवेदनशील देखापर्छन्। प्राकृतिक प्रकोप, फेरिँदो पर्यावरण र प्रकृतिमाथि मानिसले गरेका अतिक्रमणले ल्याएका (र ल्याउन सक्ने) दुष्परिणामतर्फ काव्यात्मक खबरदारी गरिएको छ।

कुनै पनि सिर्जना जन्मिन विशेष ठाउँ, परिवेश वा गहन घटना नै चाहिन्छ भन्ने छैन; सिर्जना जहाँ पनि जन्मिन सक्छ भन्ने कुरा कवि पराशरका कविताहरूमा अवलोकन गर्न सकिन्छ। मानिसहरूसँग भएका छोटा जम्काभेट वा यात्राको क्रममा देखिएका ठाउँहरूले छोडेका अनुभूतिहरूलाई पनि कविले सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

चाहे बन्दीपुरको हावा होस्, प्रशान्त महासागरको सिरेटो वा हवाईका टापुहरूमा टहलिँदाका क्षणहरू- जुनसुकै विषयमा पनि पाठकमाझ गहिरो छाप छाड्न कवि सफल देखिन्छन्।

एउटा लेखकले पाठकबाट रचनात्मक प्रतिक्रियाको अपेक्षा गरेको हुन्छ, न कि फगत प्रशंसाका गुलिया शब्दहरू। सायद, कवि पराशर पनि त्यस्तै चाहनुहुन्छ। यो सङ्ग्रहको नाम ‘यता कि उता’ लाई अझ बढी काव्यात्मक बनाउने ठाउँ भने बाँकी नै देखिन्छ। द्वैध पहिचानलाई संकेत गर्ने थुप्रै बिम्बहरूको प्रयोग गर्न सकिन्थ्यो जस्तो लाग्छ।

शीर्षक ‘यता कि उता’ भए पनि धेरै कविता कि त यताका छन्, कि त उताका मात्र छन्, मध्यमार्गी अर्थात् ‘यता कि उता’ का कविता भने कमै मात्र छन्। अङ्ग्रेजी शब्दहरूको बाहुल्यताले कतैकतै कवितालाई थोरै कमजोर बनाएको भान हुन्छ। कविताहरू सरल छन्, तर थोरैमा धेरै भन्न सक्ने खदिला काव्यिक शब्दहरूको माग धेरै ठाउँमा कविताले गरेको अनुभूति हुन्छ।

आगामी दिनमा कवि पराशरका अझ खदिला र स्वादिला कविताहरू पढ्न पाइने आशा राख्दै आजलाई ‘जदौ’ भन्न चाहन्छु। कवि पराशरलाई यस काव्यकृतिका लागि हार्दिक बधाई!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *