नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल, राजधानीका १० स्थानका लागि तोकिए कमाण्डर

डिसी नेपाल
२२ माघ २०७७ ७:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बिहीबार (आज) आम हड्तालको घोषणा गरेको छ। सरकारले संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियक्त गरेपछि सत्तारुढदलकै अर्को पक्षले आम हड्तालको घोषणा गरेको हो।

संघीय राजधानी काठमाडौं उपत्यकाका १० वटा स्थानहरुलाई केन्द्र मानेर आमहड्ताल गर्ने उक्त समूहले जनाएको छ। उक्त १० केन्द्रका लागि नेताहरुलाई कमाण्डर बनाएर पठाएको छ।

समूहका नेता युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्यले काठमाडौंको कलंकीलाई केन्द्र बनाएर आमहड्ताल गर्ने छन्। बल्खुमा बेदुराम भुषालले आमहड्तालका लागि नेतृत्व गर्ने छन् भने सातदोबाटोको जिम्मेवारी देव गुरुङलाई दिइएको छ। कोटेश्वरमा लिलामणी पोखरेलको नेत्यृत्वमा आम हड्ताल हुनेछ।

नेताद्वय वर्षमान पुन र हरिबोल गजुरेलले चावहिललाई केन्द्रमा राखेर आम हड्ताल गर्ने छन्। नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेतले मोर्चा समाल्ले छन्। यस्तै गंगबुमा भिमरावल र बालाजु चोकमा रघुजी पन्तलाई कमाण्डर खटाइएको छ।

काठमाडौंको सेन्टर रन्तपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा हड्तालको कमाण्डरको रुपमा काम गर्ने छन् भने ललितपुरको पुल्चोकमा पम्फा भुसालले मोर्चा समाल्ने छिन्।

नेकपाको आन्तरिक विवादपश्चात प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गर्दै आएको छ। प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौंमा जनप्रदर्शन गर्ने उद्घोष यस अघिनै गरिसकेका छन्।

बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परिक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ। गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो।

बुधबार पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गरेर प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो। गणतन्त्र स्थापना भएपछि देशमा आमहड्ताल हुनु र गरिनु पनि प्रतिगमन भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *