कविता :तिम्रो आँखाको गहिराइ
तिम्रो आँखाको गहिराइमा
नीलिमा भन्दा गाढा मौनता देखेको छु,
जहाँ शब्दहरू जन्मनुअघि नै
अर्थहरूका फूल फुल्न थाल्छन्।
हिमालका सेता शिखरहरू
ढुङ्गाका ढिस्का मात्र होइनन्,
उज्यालो ओढेर उभिएका स्फटिक हुन्,
जसको काखबाट प्रेमका झरनाहरू
सधैँ सुसाइरहन्छन्।
बिहानीको घामको झुल्कोमा तिमी हाँसेको बेला,
क्षितिजले आफ्नो सुनौलो आँचल फुकालेर
धरतीलाई ओढाइदिए जस्तो लाग्छ।
म तिम्रा आँखाको गहिराइमा
आफ्नो अनुहार खोज्दै थिएँ,
त्यहाँ त मेरो समग्र जीवन दीपशिखा बनेर
प्रेमको भजनसँगै आरती भइरहेको पो रहेछ!
कुनै दिन समयले हामीबीच दूरीको मरुभूमि रोप्यो भने,
मलाई विश्वास छ-
तिम्रो आँखाको एउटै दृष्टिले
त्यस मरुभूमिमा ढकमक्कै नीलकमल फुलाइदिनेछ।
प्रेम हातले समातिने वस्तु होइन,
न ओठले बोलिने भाषा हो;
प्रेम त त्यो ज्योति हो,
जुन आपसी आँखाले हृदयभित्र
विश्वासको अखण्ड कान्ति छर्न सक्छ।
मायामा डुब्नेहरू हराउँदैनन्,
उनीहरू त उज्यालो बन्छन्, सुगन्धित हुन्छन्,
र प्रेमको अनन्त आकाशमा
आपसी धड्कन बनेर सधैँ बाँचिरहन्छन्।
गोरखा बजार (हाल: म्याडिसन, अमेरिका)
No ads found for this position


Facebook Comment