सम्पादकीय : बन्द गर जनता जुधाउने अपराध

डिसी नेपाल
२२ माघ २०७७ ८:४५

काठमाडौं। शासन सत्ताको बागडोर सम्हालेर मुलुकको शक्तिको अभ्यास गरिरहेको नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको ओली समूहले सडकमा जनताको शक्ति देखाउने अस्वाभाविक सत्ता अभ्यास गरिरहेका बेला ओली समर्थक जनतालाई सडकमा आउनबाट रोक्न नेकपाको प्रचण्ड नेपाल समूहको आकस्मिक आमहड्ताल घोषणाले मुलुकमा एकाएक थप द्वन्द्वको स्थिति निम्तिएको छ।

प्रधानमन्त्री पद स्वयं शक्ति हो, लोकतन्त्रको सर्वमान्य सिद्धान्तले प्रधानमन्त्रीसग जनताको शक्ति साथमै हुन्छ भन्ने विश्वास गर्छ तर ओली त्यो जनताको शक्तिलाई सडकमा देखाउन चाहान्छन् त्यो पनि विश्व नै महामारीले आक्रान्त भएको बेला।

पार्टीभित्रका विपक्षीहरुलाई सत्ताबाट मात्र होइन सडकबाट पनि तर्साउनु माघ २३ गते राजधानीमा आह्वान गरिएको ओलीसमूहको प्रदर्शनको अभिष्ठ हो। ओलीको यही अभिष्ठमाथि ब्रेक लगाउन प्रचण्ड–नेपाल समूहले हठात् आमहड्ताल घोषणा गरिदिएको छ।

नेकपाको एक समूह आमहड्ताल गर्ने र अर्को समूह काठमाडौं केन्द्रित आमसभाका लागि देशका विभिन्न जिल्लाबाट मानिसहरुलाई ओसार्ने दिन एउटै पर्दा कार्यकर्ताबीच मुठभेडको स्थिति उत्पन्न भएको छ। तर, यी दुवै कदम के का लागि ?

सत्तारुढ दल नेकपाका दुबै गुटले जनताको यतिबेला घोरअपमानमात्र गरेका छैनन् जनताको घरघरमा कोरोनाको भाइरस पुर्याइदिने ‘हत्यारा’को भूमिका खेलेका छन्। यद्यपि यो अपराधमा प्रमुख विपक्षी नेपाली काँग्रेसलगायत अन्य विपक्षी दलहरुले पनि सक्दो सहयोग गरिरहेका छन्।

चित्त बुझ्दो जवाफ दुवै समूहसँग छैन। तर, दुवै समूह आ आफ्नो गतिविधिको औचित्य पुष्टि गर्न जनताको दुहाइ दिन भने कन्जुस्याईँ गर्दैनन्। तर, नेकपाका दुवै समूहले भनुन् आमहड्ताल र कोरोना महामारीको भेलका बेला आयोजित आमसभाबाट जनताले के पाउँछन्?

प्रतिनिधिसभा विघटन निश्चित रुपमा नेकपा भित्रको कुर्सीको लडाईँको परिणती हो। प्रधानमन्त्री केपी शर्मा ओली वा प्रचण्डहरुले जनतालाई केन्द्रमा राखेर, देशको भलो चिताएर, युवाको भविष्यप्रति चिन्तित भएर यो कदम उठाएका होइनन्। नेताहरु आफ्नो अभिष्ठ पूरा गर्न कुन हदसम्म झर्न सक्दा रहेछन् भन्ने अहिले नेकपाका दुवै समूहले गरेका गतिविधिले देखाएको छ।

विश्वव्यापी कोरोना महामारीले देशको आर्थिक अवस्था तहसनहस छ। महँगी बढेर जनताहरु आधा पेट खानुपर्ने अवस्था आउँदैछ। लाखौं विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ। सरकार पैसा अभाव भन्दै कोरोनाविरुद्धको खोपका लागि सार्वजनिक सूचनामार्फत चन्दा मागिरहेको छ। र सबैभन्दा खतरनाक विषय भनेको नेपाल अहिले पनि कोरोनाको उच्च जोखिममा छ।

जनयुद्धका नाममा हजारौंको बली चढिसकेको यो मुलुकका लागि प्रचण्डको हिंसात्मक आन्दोलन गर्ने धम्कीले फेरि कति निहत्थाहरुले जीवन सुम्पनु पर्ने हो उनको सत्ता स्वार्थका लागि भन्ने प्रश्नको उत्तर जनताले नै खोज्नुपर्छ।

तर नेताहरुलाई यो विषयको कुनै मतलब छैन। उनीहरुलाई आफ्नो अभिष्ट पूरा गराउन जनतालाई एकआपसमा जुधाइरहेका छन्। जनताले त पाँच वर्षका लागि मतदान गर्दै नेताहरुलाई सरकार चलाउन जिम्मेवारी दिएर आपसी जुधाइका लागि बाटो बन्द गरिदिएका थिए। आफ्नो कर्तव्य पूरा गरेका थिए। तर, राजनीतिक दलका नेताहरु आफ्नो कर्तव्य पूरा नगरी फेरि जनतालाई जुधाउन सडकमा ओर्लेका छन्।

सत्तारुढ दल नेकपाका दुबै गुटले जनताको यतिबेला घोरअपमानमात्र गरेका छैनन् जनताको घरघरमा कोरोनाको भाइरस पुर्याइदिने ‘हत्यारा’को भूमिका खेलेका छन्। यद्यपि यो अपराधमा प्रमुख विपक्षी नेपाली काँग्रेसलगायत अन्य विपक्षी दलहरुले पनि सक्दो सहयोग गरिरहेका छन्।

स्वाभाविक अवस्था भएको भए लोकतन्त्रमा जनप्रदर्शनहरु स्वाभाविक मानिन्छन् तर अहिलेको अवस्था अस्वाभाविक हो। त्यसमाथि सत्तारुढ दलकै असन्तुष्ट अध्यक्ष प्रचण्डले केही दिनअघि ‘ननभेज’ आन्दोलन गर्ने धम्की दिइसकेका छन्।

गैरजिम्मेवारीको हद पार गरेका सत्तारुढ दलका दुबै गुटहरुका अराजक गतिविधिहरु तत्काल बन्द हुनुपर्छ। जनतलाई दुख दिने कुनै पनि हड्ताल वा प्रदर्शन डटेर प्रतिबाद गर्नु अत्यावश्यक भइसकेको छ। सहनुको पनि सीमा हुन्छ।

जनयुद्धका नाममा हजारौंको बली चढिसकेको यो मुलुकका लागि प्रचण्डको हिंसात्मक आन्दोलन गर्ने धम्कीले फेरि कति निहत्थाहरुले जीवन सुम्पनु पर्ने हो उनको सत्ता स्वार्थका लागि भन्ने प्रश्नको उत्तर जनताले नै खोज्नुपर्छ।

नेपाली जनतालाई नेताहरुले प्रजातन्त्रको स्थापनाकालदेखि नै आपसमा लडाउँदै आएका छन्। जनता यस्ता नेताहरुको पछाडि लागेर आपसमा लड्न अभिसप्त छन्। तर, ती नेताहरु कुर्सीमा पुगेपछि जनतालाई यति छिटो विर्सिन्छन् मानौं उनीहरुमा ‘सर्ट ट्रम मेमोरी लस’ का रोगी नै हुन्, स्वार्थन्धताको पराकाष्ठा हो यो।

नेताहरु नसुधे्रसम्म जुनसुकै तन्त्र आएपछि जनताले सुख पाउँदैनन् भन्ने उदाहरण बन्दै छन् अहिलेका नेताहरु। गैरजिम्मेवारीको हद पार गरेका सत्तारुढ दलका दुबै गुटहरुका अराजक गतिविधिहरु तत्काल बन्द हुनुपर्छ। जनतलाई दुख दिने कुनै पनि हड्ताल वा प्रदर्शन डटेर प्रतिबाद गर्नु अत्यावश्यक भइसकेको छ। सहनुको पनि सीमा हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *