बिरामीका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिले नै  बिक्री गरेपछि……

डिसी नेपाल
२३ माघ २०७७ १७:४९

विराटनगर । अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म जीवन बचाउनका लागि खरिद गरिएको एम्बुलेन्ससमेत विक्री गरेकामा मोरङको बेलबारी नगरपालिकाका नागरिकले गुनासो एवं आक्रोश व्यक्र गरेका छन् ।

लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएकामा संस्थाको समेत बेइज्जती भएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको रु तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा रु ११ लाखमा खरिद गरिएको को१च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स विसं २०७० मा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर बिक्री गरिएको थियो ।

एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि यसको खोजी नभएको र सन् २०२० मा आफू नेतृत्वमा आएपछि खोजी गरिएको तथा पटक/पटक पुरानो समितिलाई यसबारे जानकारी माग्दा बेवस्ता गर्नाका साथै कुनै जवाफ नपाइएको उनले जानकारी दिए । गरीब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको उक्त एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *