लेख्ने कुरामा पनि के कञ्जुसाईँ गर्नु ? लेख्दा खुलेर लेखिन्छ : विमला तुम्खेवा साहित्यकार – Dcnepal

लेख्ने कुरामा पनि के कञ्जुसाईँ गर्नु ? लेख्दा खुलेर लेखिन्छ : विमला तुम्खेवा साहित्यकार

विमला तुम्खेवा नेपाली साहित्यमा परिचित नाम हो। साहित्य र पत्रकारिता जीवन एकसाथ अगाडि बढाएकी तुम्खेवा बहुप्रतिभाको धनी छन्। नेपाली साहित्यको कथा र कविता विधामा कलम चलाएकी तुम्खेवा थुप्रै राष्ट्रिय सम्मानबाट सम्मानित व्यक्तित्व पनि हुन्। हालैमात्र नेपाली प्रतिभा प्रतिष्ठान बेलायले १ लाख राशिको नगदसहित उनलाई सम्मान गरेको थियो।

नेपाली साहित्यको कविता विधामा कलम चलाउने तुम्खेवा ५० को जगतमा साहित्यमा छिरिन्। विमला तुम्खेवाका कविताहरु (२०५५), नदी छाल र तरंगहरु (२०६०), स्मरण एउटा बुढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको उभिएको मान्छे (२०७५) कविता संग्रह बजारमा छन्।

विशेषगरी नेपाली महिला, थिचोमिचो र सामाजिक कुरीतिमा विमलाको धेरै कलम चलेको छ। सामाजिक यथार्थमा रहेर कलम चलाउने विमला संचारिका समूहकी महासचिव समेत हुन्। उनै साहित्यकार तथा पत्रकार विमला तुम्खेवासँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश ः

पत्रकार र साहित्यकार दुई जीवनको समय समायोजन कसरी गर्नु हुन्छ ?

बाहिरबाट हेर्दा अफ्ठेरो परिस्थिति जस्तो लाग्छ। तर, सकारात्मक रुपमा हेर्ने हो भने कुनै पनि लेखकले लेख्ने कुरा, विषयवस्तु खोजिराखेको हुन्छ। पत्रकारिता क्षेत्र यस्तो क्षेत्र हो कि समाजको विभिन्न पाटाहरुलाई नजिकबाट हेर्न र बुझ्न पाइन्छ। पत्रकारिता जीवनले काहीँ न काँही सहयोग गरिरहेको हुन्छ। समय समायोजन गर्न त्यतिधेरै अफ्ठेरो भएजस्तो मलाई लाग्दैन।

साहित्य लेखन र पत्रकारिता लेखनको शैलीको कुरा गर्दा फरक हो। पत्रकारिता हतारको साहित्य पनि हो। यो दुवै लेखने समाज समाजलाई नै केन्द्रविन्दु मानेरे लेख्ने हो। बेथितिलाई खबरदारी गरिरहने यी दुवैको काम र कर्तव्य हो। साहित्यलाई समाजको दर्पणका रुपमा परिभाषित गर्न पत्रकारिता पेशाले पनि सकारात्मक भूमिका नै निर्वाह गरेको हुन्छ।

साहित्यकारहरु सडकमा गएका छन् नि के भन्नु हुन्छ ?

तपाईँको देशमा कस्तो शाशकले शासन गरिरहेको छ। तपाईँ बाचेको परिवेश, परिस्थिति, समाज, राज्यको संरचनाले पनि साहित्यकारहरुलाई सडकमा ल्याउछन् कहिले काहीँ। राज्यको भूमिका के कस्तो भन्ने विषयले पनि यो कुराको निर्धारण गर्छ।

यतिबेला म्याक्सीम गोर्कीको आमा उपन्यास सम्झिन चाहन्छु। आमा उपन्यासमा त्यो बेलाको समाज, राजनीतिक अवस्था झलझली देखिन्छ। मलाई लाग्छ, कुनै पनि एउटा सर्जक, कवि, लेखक, उसले आफ्नो समयको यी कुरालाई लेख्ने हो।

एउटी महिलाले घर म्यानेज गर्नुपर्ने, छोराछोरी म्यानेज गर्नुपर्ने, अफिस पनि म्यानेज गर्नुपर्ने, आफ्नो लेखन पनि म्यानेज गर्नु पर्ने, तर, केटामान्छेले त आफ्नो लेखन म्यानेज गरे पुग्यो नि। यो परिस्थितिमा परिवर्तन आउनु पर्छ। यो परिवर्तन माथिबाट नै आउनु पर्छ।

अब अयो सडकमा कविहरु किन भन्ने कुरा, २०६२/६३ को आन्दोलनदेखि लिएर, त्यो भन्दा पहिला भएको २०४७ सालको आन्दोलनको कुरा गरौं वा त्यो भन्दा पनि पहिलाको।

नेपालको जुनसुकै राजनीतिक घटना र परिघटनाहरुमा लेखक तथा सर्जकहरु आफ्नो ठाउँबाट इमान्दार नागरिकको हिसाबबाट सबै किसिमको प्रतिगनमको विरुद्धमा उनीहरुले आवाज उठाइराखेका छन्। सत्तामा बस्ने र अरुले कसरी हेरिरहेको छ भन्ने उनिहरुको दृष्टिकोणमात्र हो झैं लाग्छ।

नेपाली साहित्यमा पारिजातपछि महिलाहरुको उपस्थिति कहाँ छ ?

नेपालमा हामी बाँचेको सामाजिक संरचना कस्तो छ, हामीले धारण गर्ने धर्मको आइडोलोजी कस्तो छ। त्यसले हाम्रो समाजलाई कता तिर लैजाँदै छ। यो समाजमा बाँचेका महिलाहरुको अवस्था भन्नका लागि त्यसको चुरो कुरोसम्म पुग्नु पर्छ।

त्यो बेलाको समयमा दार्जिलिङबाट आउनु भएको हो। उहाँ चाँही जनजाति समाजबाट आउनु भएको हो। पछिल्लो समय पनि पारिजात जस्तै गरी आइरहनु भएको छ।

कुन्ता शर्मा, तोया गुरुङ, बेन्जु काँचुली, मन्जु काँचुली आदरणीय दिदीहरु हुनुहुन्छ। हाम्रो पुस्तामा पनि कुमारी लामा, बिना थिङ, सीमा आवास भन्नुहोस्, आइरहनु भएको छ। हामी आउनु र एउटा पुरुष आउनुमा धेरै फरक हुँदोरहेछ।

त्यो फरक किन ?

फरक महिलालाई आउन नदिएर। एउटी महिलाले घर म्यानेज गर्नुपर्ने, छोराछोरी म्यानेज गर्नुपर्ने, अफिस पनि म्यानेज गर्नुपर्ने, आफ्नो लेखन पनि म्यानेज गर्नु पर्ने, तर, केटामान्छेले त आफ्नो लेखन म्यानेज गरे पुग्यो नि। यो परिस्थितिमा परिवर्तन आउनु पर्छ। यो परिवर्तन माथिबाट नै आउनु पर्छ।

यो राजनीतिक परिवर्तन हुने वित्तिकै समाजमा भएका यस्ता असमानताहरु जति थिए सबै जान्छन भन्ने जुन बुझाई छ त्यो पनि हैन रहेछ। समाजमा हुने थिचोमिचो अन्याए सबैमा पविर्तन हुँदै आउँदा एउटा युग बित्नु पर्ने रहेछ। इतिहास फर्केर हेर्नेहो भने मुस्किलले २ सय वर्ष भयो।

जनजाति महिलाहरुको अवस्था के छ ?

समानता छ। महिलामाथि हुने विभेद कम छ। तर, शिक्षाको कारण पछि परेका छन्। शिक्षामा पहुँच पुगेको छैन। शिक्षामा पहुँच नपुगेकाले उहाँहरु अगाडि आउन सकेका छैनन्। पहिलाको पुस्तामा पढ्नुपर्छ भन्ने थिएन। तर, पछिल्लो समय त्यो धारणा पनि एकदमै विकासहुँदै गएको छ।

यहाँले महिला अगाडि आउनमा धर्म, संस्कृति, संस्कार र सभ्याता जस्ता कुराले अर्थ राख्छ भन्नु भयो। पारिजातलाई यी कुराले रोकेनन् अरुलाई रोके त ?

सबै व्यक्तिमा लागू हुँदैन। नत्र यो दुनियामा गोर्की एक पटक जन्म लिन्थे होला। फेरि अमृता प्रितम जन्मिन्थ्यो। यो एकदमै गाह्रो कुरा हो। मैले अघि भनेकै कारण आउन खोजेकाहरु आउन सकेका छैनन्। तर, साच्चै क्वालिटी भएको महिलाहरु आउलान नि त।

अबको दुई दशकपछिको समयले त्यो एउटा चित्रको निर्धारण गर्ला नि त। मलाई त्यस्ताे लाग्छ। अहिलेको पुस्तामा जति क्षमता लिएर महिलाहरु लेखनमा आइरहेका छन्। ती महिलाहरुले दुई तीन दशकपछि एउटा इतिहास बनाउँछ जस्तो मलाई लाग्छ।

कविता लेख्ने यहाँको हुटहुटी अझै बाँकी छ ?

नबुझ्दासम्म मात्र हुटहुटी हुने हो। बुझेपछि धेरै गहन कुरा हो। कविता लेख्नु र साच्चिकै कविता लेख्नु धेरै फरक कुरा हो। तपाईँले समाजलाई बुझ्नु पर्यो, तपाईँले राजनीतिलाई बुझ्नु पर्यो।

मान्छेको संवेग, प्रेम, घृणा, करुणा र मानवतालाई बुझ्नु पर्यो। त्यसपछि गएर एउटा प्रफेक्ट कविता हो कि होकि तरिकाले लेख्न सक्छुहुन्छ। मैले आफैले पनि कविताको नाममा सायद कुण्ठामात्र पो लेखिरहेकी छु कि!

अराजक खालको लेखाइ छ भन्ने आरोप पनि लाग्छ नि यहाँलाई ?

हा..हा…। लेख्नु छ। लेख्ने कुरामा पनि के कञ्जुसार्इँ गर्नु। समाजमा बेथिती देखिएकै हुन्छ। समाजमा थिचोमिचो देखिएकै हुन्छ। तपाईँलाई लागेको र आत्माले देखेको कुरा लेख्न के डर। लेखेपछि खुलेर लेख्नुपर्छ। कमसेकम सहीकुरा त लेख्नु पर्यो नि।

यहाँले पहिलो साहित्य कहिले लेख्नु भएको थियो?

खत्राक–खुत्रुुक लेखेको धेरै त घर जल्दा खेरी नै जल्यो। सुरुवाती समयको सबे जलेर नष्ट भयो। मलाई अहिले याद भएको ‘म’ भन्ने कविता मैले लेखेको थिए। तर, कुन पत्रिकामा आयो भन्ने कुरा अहिले समझनामा आएन।

पछि छितिज खहरे पत्रिका भनेर निकाल्न थाल्यौं। हाम्रो टिम थियो देउमान सम्बाहाम्फे, उहाँ अहिले सिनियर एड्भोकेट हुनुहुन्छ यही काठमाडौं तिर। भुपेन्द्र तिमिल्सेना, सुमन राई लगायत थियौं।

त्यो बेलाको जोस अर्कै थियो। त्यतिबेला जनु मनमा शान्ति हुन्थ्यो त्यो अहिले छैन। यहाँले मेरो कथाको पनि कविता लेख्नु है शिर्षकमा एउटा आमाको कथा लेख्नु भएको छ। कसरी जुरेको थियो।

कामको शिलशिलामा सुर्खेत गएकी थिएँ। उहाँसँग कुरा हुँदा उमेरको कुरा आयो र मेरो उमेर उहाँले पत्याउनु भएन। मेरो उमेरका महिलाहरु धेरै फरक देखियो। उहाँले एउटै पटक ४ वटा काम गरिरहनुभएको थियो। एउटा नानी पेटमा, अर्को नानी काखीमा। पिठ्यूमा घाँसको भारी र हातमा काटाँ बुनिराखेको देखेँ। कुरा गर्दै गयौं उहाँले भन्नु भयो तुम्खेवा नानी मेरो कथाको पनि कविता लेख्नु है भन्ने कविता अयो।

यहाँको अनुभवले कविताको परिभाषा एक लाइनमा भन्नु भन्दा के भन्नु हुन्छ?

जीवन र जगतलाई हेर्ने मान्छेको दृष्टिकोण भनौं। मान्छेको संवेग भनौं। हामी लेखकहरुले यी कुरालाई कविताको माध्यामबाट राख्छौ। यतिनै हो जस्तो लाग्छ। मनमा लागेको कुराको प्रतिक्रिया त सबैले दिइरहेको हुन्छ नि।

कथा र कविता लेख्दा कुन सजिलो हुन्छ ?

कथा सजिलो हुन्छ। कविता लेख्न त गाह्रो हुन्छ। मैले धेरै समय अघिदेखि कथा लेख्थे तर लुकाएर राखेकी थिए। कथा प्रकाशन गरेको १ वर्षमात्र भयो। कविता राम्रै लेख्छौं है तुम्खेवा भन्ने प्रतिक्रिया पाइरहेको बेलामा कथाले के गर्छ, कस्तो प्रतिक्रिया दिन्छ भन्ने सोचिरहेकी थिएँ।

तर, राम्रै आयो। अनि आँट आयो र लेख्न थालेँ। कथामा आफ्नो कुरालाई जसरी चाहनु हुन्छ। त्यसरी राख्न सकिन्छ। कविता त थोरै बाक्यमा यतिधेरै कुरा लेख्नु पर्ने हुन्छ। त्यो त गाह्रै कुरा हुन्छ।

मुक्तछन्दमा कलम चलाउँदै आउनु भएको छ। छन्दमा कविता लेख्ने प्रयास गर्नु भयो कि!

गरिन। मलाई अभ्यास नै भएन। अर्को कुरा संस्कृत जान्नु पर्यो। लिम्बुले काँबाट संस्कृत जान्नु। त्यसैले पनि छन्दमा कविता लेख्ने प्रयास नै गरिन।

छन्द कविता त कविता मुक्त छन्द त के कविता त भन्नेहरु पनि नभएका हैनन् नि?

छन्दमा लेख्नेको आफ्नै छ। मुक्त छन्दमा लेख्नेको आफ्नै छ। यो विवादको कुरो त रहिरहन्छ जस्तो लाग्छ। तर, मेरो बुझाईमा तपाईँले जसरी हुन्छ। कलममार्फत समाजमा भएको बेथिति, कुरिति, कु–संस्कृतिका बारेमा लेख्नुपर्छ भन्ने हो। जसले जसरी सकिन्छ। कविता, कथा, उपन्यास, वा तपाईँको कलम जुन विधामा चल्छ सोहि विधामार्फत समाजलाई मार्गदर्शन गर्नु पर्छ भन्ने हो।

समाजमा मैले गज्जब लेखेँ भन्नेहरु पनि नभएका हैनन्। यहाँको बुझाईमा नेपाली साहित्य कहाँ छ ?

जुनसुकै युगमा मैले मात्र गज्जब गरे भन्नेहरु आउँछन्। यी भुस जस्तै आउँछन् जान्छन्। कतिले गुट नै बनाएर हिँडेको छ। गुट उपगुटले गर्दा श्रवण मुकारुङ, भुपी शेरचन, बैरागी काइँलाको के मतलब। गुट बनाएर नै पुरस्कार लिनेहरुपनि कमी छैन यो देशमा।

तर, पछिल्लो पुस्ताले साहित्यमा धमाका मचाउला जस्तो छ। हामीले हेर्छौं पछिल्लो पुस्ताको जाँगर, उनीहरुको लेखाई, मेहनत हेर्दा नेपाली साहित्य धेरै अगाडि बढेको छ झै लाग्छ। अबको पुस्ताले नयाँ प्रविधिसँग,प्रविधि मैत्री बनेर अगाडि बढेको खण्डमा साहित्यको स्थान धेरै माथि छ झैं लाग्छ।

नेपालको परिवेशमा लेखेर बाँच्न कति सजिलो छ ?

अहिले क्षमता भएको मान्छेलाई बाँच्च गाह्रो छैन। तपाईँले पनि देख्नु भएको छ। अहिले साहित्यकारहरु सरर.. आफ्नै कार लिएर हिँडिरहेका हुन्छन्। नेपालमा अहिले जसरले क्वालीटी दिन सक्यो उसैको छ। साहित्यकारहरुको पनि जीवनशैली फेरिएको छ।

कोरोनाको महामारीले गर्दा अलिकति गाह्रो भएको छ। पहिलाको जस्तो छैन। भूपिशेरचन, पारिजातको जस्तो बेला छैन। अहिलेको चुनौती भनेको गतिलो लेखाई हो। लेख्नुहोस् गतिलो लेख्नुहोस्।

साहित्यमा लाग्दाका फाइदा र बेफाइदाहरु ?

साहित्यमा लाग्नु पर्छ भनेर कसैले घोक्र्याएर ल्याएको त हुँदैन। र बेफाइदाको कुरा त देख्दिन। आफ्नो सोच अनुसार हो। कतिले आफ्नो जन्म नै अभिषाप ठान्छन्, आफ्नो संवेक, आफ्नो चेतले आएकी हुँ।

फाइदा र बेफाइदाको कुरा गर्दा प्रधानमन्त्री भएको व्यक्तिलाई पनि सोध्नुभयो भने उनीहरुले फाइदा देख्दैनन्। तर, साहित्यमा झुटो बोलिँदैन। पोजेटिभ भाइव आउँछ। मलाई धेरैवटा पेशाहरु मध्ये लेखक पेसा उत्कृष्ट लाग्छ। सन्त जस्तै हो झै्र लाग्छ। यसो हेर्दा घाटा भन्ने कुनै पनि कुरा साहित्यमा हुँदैन।

साहित्यमा आउन चाहने पुस्तालाई यहाँको टिप्स के छ ?

लेख्नुहोस्। यति लेख्नुहोस् कि तपाईँलाई च्यात्न पनि नमिलोस्। यतिधेरै पढ्नुहोस्, यति धेरै पढ्नुहोस् कि, देशकाल परिस्थिति, सबै बुझ्नुहोस्। सबै कुरा बुझ्नु भयो भने तपाईँको लेखनमा निखार आफै आउँछ।

कम बोल्ने, कम अभिव्यक्ति दिने। धेरै पढ्ने, धेरै लेख्ने। निरन्तर झर्ने पानीको एक थोपाले चट्टानमा आफ्नो आकार बनाउँछ। त्यसैगरी लेखनीलाई पनि निरन्तरता दिनु भयो भने निखारिँदै जान्छ। धेरै लेख्नुहोस् र धेरै पढ्नुहोस् भन्नु कुरा नै दोहोर्याउँछु। जतिचोटी पनि यही भन्छु।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो