निर्वाचन आयोगमा एक घण्टा बिताएका प्रधानमन्त्री मुस्कुराउँदै फर्किए

तर्कबहादुर थापा
२७ माघ २०७७ १४:५८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेर बैशाखमा निर्वाचनको घोषणा गरे। अधिकांश राजनीतिक दल प्रधानमन्त्रीको उक्त कदमका विरुद्ध सडक आन्दोलनमा छन्। निर्वाचन हुने नहुनेबारे सर्वत्र आशंका छ। सर्वोच्च अदालतमा प्रधानमन्त्रीको उक्त कदमका विरुद्धमा परेका रिटमाथिको सुनुवाइ जारी छ।

निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहेको जनाएको छ। निर्वाचन आयोगको तयारीबारे जानकारी लिन मंगलबार प्रधानमन्त्री ओली आयोगको कार्यलय कान्तिपथ पुगेका थिए। तोकिएको समयमा निर्वाचन गर्ने दृढता जनाउँदै आएका प्रधानमन्त्री ओली र निर्वाचन आयोगका पदाधिकारीबीच झण्डै एक घण्टा छलफल भयो।

उक्त छलफल पछि प्रधानमन्त्री ओलीले आयोगबाट मुस्कुराउँदै बलुवाटार फर्किए। प्रधानमन्त्री ओली पार्टीको आधिकारिता दाबी गर्न आयोग पुगेको बताइएपनि त्यहाँ उनले निर्वाचनको तयारीका विषयमा आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘आयोगमा सरकार आएको हो। पार्टी आएको होइन,’ प्रधानमन्त्री आयोगका पदाधिकारीसँग भेटेर फर्किएपछि थापाले पत्रकारसँग कुरा गर्दै भने, ‘तोकिएको समयमा निर्वाचन गर्नु बाहेक आयोगलाई अरु मतलब छैन।’

थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक पर्ने कानून, सुरक्षा र अर्थका बारेमा बुझेका थिए। प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठ, नेकपा (ओली समूह)का नेता सुवासचन्द्र नेम्वाङ पनि निर्वाचन आयोग पुगेका थिए।

‘आयोगले गरेको काम सन्तोषजनक रहेकोले प्रधानमन्त्रीले धन्यवाद पनि दिनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भने, ‘आयोगलाई निर्वाचनको काम निरन्तर अगाडि बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिनु भएको छ।’ पार्टीको विवादका बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा थापाले भने, ‘प्रधानमन्त्रीले निर्वाचन कानुन, हिजोका अभ्यास लगायतका विषयमा जिज्ञासा राख्नु भएको छ।’

प्रमुख निर्वाचन आयुक्तले माघ १० गते एउटा निर्णय लिइसकेको र माघ २० गते पनि अर्को निवेदन परेको बारे प्रधानमन्त्रीलाई जानकारी गराएको थापाको भनाइ थियो। आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले भने, ‘प्रधानमन्त्रीज्यूले आयोगलाई निर्वाचन गराउन आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो।’

नेकपाको पार्टी विवादका विषयमा कुनै पनि कुरा नभएको उनको भनाइ थियो। उनले भने, ‘पार्टी विवादका विषयमा कुरा गर्न आयोगले पत्र पठाउँछ। आफूसँग भएको आधिकारिकताको दाबी गर्ने प्रमाणहरु माग्छ। आज आयोगले बोलाएर आउनु भएको हैन। आयोगको तयारीका बारेमा बुझ्न आउनु भएको हो।’

आयोगले निर्वाचन गराउन आन्तरिक तयारी गरिरहेको उनले बताए। उनका अनुसार आयोगले कानून, बजेट, सुरक्षा, प्राविधिक कार्य, अन्तर्राष्ट्रिय मान्यता, राजनीतिक वातावरणका बारेमा पनि छलफल भएको जानकारी दिए। सरकारले सोमबार मात्रै पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरिसकको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *