परराष्ट्रमन्त्री ज्ञवाली र एनआरएनएका अध्यक्ष पन्तबीच भेटवार्ता

डिसी नेपाल
२८ माघ २०७७ ११:०८

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीबीच भेटवार्ता भएको छ। भेटमा संघले गरिरहेको गतिविधिबारे छलफल भएको छ।

भेटमा अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आव २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराएका छन्। विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराइ आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको उनले बताए।

आगामी दिनमा गरिने महाधिवेशनलाई पनि भर्चुअल (अनलाइन)माध्यमबाटै गर्ने योजना बनाएको जानकारी गराउँदै अध्यक्ष पन्तले महाधिवेशन सेरोफेरोमा संघमा एकाध रुपमा देखिदैं गएका राजनीतिक र अवाञ्छित गतिविधिलाई पनि केही हदसम्म कम गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखापरेका विभिन्न कानुनी अड्चन फुकाइ सहज रुपमा लगानीको वातावरण बनाउन मन्त्री ज्ञवाली समक्ष उनले आग्रह गरे। संघले सञ्चालन गरेको कोभिड–१९ रेसपोन्स् टु नेपाली माइग्रेट वर्कस परियोजना सहज रुपमा कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण गर्न समेत उनले अनुरोध गरे।

उनले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धताका लागि संघले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा समेत मन्त्री ज्ञवालीसँग जिज्ञास राखेका थिए। संघका उपाध्यक्ष डा.बद्री केसीले रुसबाट खोप ल्याउन संघका तर्फबाट आफू र रुसी दूतावासले प्रयास गरिरहेको जानकारी गराउँदै उपयुक्त वातावरणको निर्माण गरिदिन अनुरोध गरेका थिए।

सो अवसरमा मन्त्री ज्ञवालीले संघको तर्फबाट आएको सुझावलाई सकारात्मक लिएको बताए। खोप उपलब्ध गराउनका लागि संघले देखाएको चासोलाई सकारात्मक रुपमा लिएको भन्दै उनले त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *