माधवनारायणका वर्तालु पशुपति तीर्थ यात्रामा

डिसी नेपाल
२८ माघ २०७७ १९:५५

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका वर्तालु तीर्थ यात्राका लागि आज पशुपति क्षेत्र आउँदैछन् ।
माघकृष्ण चतुर्दशीका दिन दिउँसो शालीनदीबाट वर्तालु पशुपतिवासका लागि पैदल यात्रा गर्छन् । माधवनारायण वर्तालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर वर्तालु सुत्छन् । माघ कृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा वर्तालुले स्नान गर्ने व्रत विधि रहेको छ ।

स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि रहेको साँखुका स्थानीय सञ्चारकर्मी पवनलाल श्रेष्ठले जानकारी दिए । वर्तालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण वर्तालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ । सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औँसीको राति बास बस्ने गरिन्छ । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र हुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।

माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई वर्तालुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गर्छन् । माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ । पशुपतिमा माधवनारायण वर्तालु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । माघकृष्ण औँसीका दिन पशुपतिनाथ मूल मन्दिरभित्र माधवनारायणका वर्तालुलाई दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *