गोलबजारमा कर्फ्यू खुकुलो, स्थानीय अवस्था हेरेर थप निर्णय हुने
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा तथा पछिल्लो परिस्थितिको मूल्यांकनपछि कर्फ्यू केही समयका लागि खुकुलो पार्ने निर्णय गरिएको हो।
प्रशासनले स्थानीय शान्ति–सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै आगामी अवस्थाको मूल्यांकनपछि कर्फ्यूलाई थप खुकुलो बनाउने वा पूर्ण रूपमा हटाउने विषयमा आवश्यक निर्णय गरी पुनः सूचना जारी गरिने जनाएको छ।
कर्फ्यू खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ। यसबाट यात्रु तथा सवारी आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।
यद्यपि, कर्फ्यू खुकुलो भएको समयमै पनि सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने व्यवस्था यथावत् रहने प्रशासनले जनाएको छ। सबै नागरिकलाई उक्त निर्देशनको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment