पार्टी एकता गराउने अभियानमा लालबाबु पण्डित : भन्छन्, कुनै पक्षमा लाग्दिन

मदन कोइराला
२९ माघ २०७७ १२:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहका विभाजित भएको छ। नेकपाको सक्रिय राजनीतिमा रहेका कार्यकर्ताहरु दुई समूहका विभाजित बनेका छन्। प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा राजधानीमा ठूला ठूला प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनमा एक पक्षको अर्को पक्षलाई खुइल्याउने गरी प्रस्तुत हुने गरेका छन्।

बुधबार नेकपा प्रचण्ड–माधव नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गर्यो। उक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले नै शब्दबाण प्रहार गरे।

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनमा पूर्व मन्त्री एवं तत्कालीन नेकपा स्थायी कमिटी सदस्य लालबाबु पण्डित उपस्थित थिएनन्। पण्डित सो सभामा मात्रै होइन, २३ गते ओली समूहले गरेको जनसभामा पनि उपस्थित थिएनन्।

के गर्दैछन्  पण्डित?

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री हुँदा निजामती कर्मचारीले डिभी, पिआर वा सरकारी सेवामध्ये एक रोज्न बाध्य पारेर चर्चामा आएका पण्डित वर्तमान केपी ओली सरकारमा पनि सामान्य प्रशासन मन्त्री थिए।

मन्त्रीबाट हटेपछि उनी राजनीतिक चर्चाबाट ओझेलमा परेका थिए। अहिले पार्टी विभाजन भएपछि उनी कुनै पनि समूहमा खुलेका छैनन्। बरु उनले आफूलाई पार्टी एकताको पक्षमा उभ्याएका छन्।

‘म अहिले सडकमा गएको छैन। म पार्टी एकताको पक्षमा छु। नेकपा विभाजन भएको होइन, चिरा परेको हो,’ पण्डितले डिसी नेपालसँग भने, ‘म प्रतिनिधिसभा विघटनको विपक्षमा छु। प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्नेमा दुईमत छैन। तर म अहिले नै कुनै एक समूहको पक्षमा लागेको छैन। पार्टी मिलाउने अभियानमा छु।’

मैले राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसम्म, पूर्व प्रधानमन्त्रीहरुदेखि लिएर उपप्रधानमन्त्रीसम्मलाई भेटेको छु। राष्ट्रपतिज्युसँग विघटन गर्नु अगाडि राजनीतिक दल र संविधानविदसँग कुरा भएको भए हुन्थ्यो भनेर भनेँ। उहाँले अहिले अदालतमा मुद्दा विचाराधीन भएको हुनाले यो विषयमा धेरै कुरा नगरौं। अदालतको फैसला आएपछि संविधान संरक्षकको हैसियतले मैले गर्नुपर्ने काम गर्छु भन्नु भयो।

त्यसका लागि नेता पण्डितले दुवै समूहका शीर्ष नेतासँग भेट गरिसकेका छन्। अघिल्लो हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टा १५ मिनेटसम्म भेटघाट गरेका पण्डितले त्यसको दुई हप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लामो छलफल गरे थिए।

‘मैले राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसम्म, पूर्व प्रधानमन्त्रीहरुदेखि लिएर उपप्रधानमन्त्रीसम्मलाई भेटेको छु,’ पण्डितले भने, ‘राष्ट्रपतिज्युसँग विघटन गर्नु अगाडि राजनीतिक दल र संविधानविदसँग कुरा भएको भए हुन्थ्यो भनेर भनेँ। उहाँले अहिले अदालतमा मुद्दा विचाराधीन भएको हुनाले यो विषयमा धेरै कुरा नगरौं। अदालतको फैसला आएपछि संविधान संरक्षकको हैसियतले मैले गर्नुपर्ने काम गर्छु भन्नु भयो।’

अर्को समूहमा पनि प्रचण्डबाहेक अरु सबै शीर्ष नेतासँग भेट गरेको उनले बताए। ‘अहिले दुवै आवेग र उत्तेजनामा हुनुहुन्छ,’ उनले भने, ‘त्यसले गर्दा तत्काल एकता होला र भन्ने पनि लाग्न सक्छ। तर ढिलो चाँडो नमिली सुख्खै छैन।’ एकले अर्को पक्षलाई गाली गलौज गरेकोप्रति असन्तुष्ट बनेका पण्डितले अन्य राजनीतिक दलबाट संस्कार सिक्न सुझाव दिएका छन्।

‘अहिले मिडियामा हामी सबैले बोलेका कुरा रेकर्ड हुन्छन्, पछि त्यही हेरेर आफूलाई लाझ लाग्ने स्थिति नहोस भन्नेतर्फ हाम्रा नेताहरु सचेत हुनुपर्ने हो,’ उनले भने, ‘गाई किन्न जाँदा दूधको महत्व हुन्छ, गोबर हुँदैन। यो कुरा हामीले बिर्सिनु हुँदैन।’

पार्टी एकताकै विषयलाई लिएर पण्डितले दुई पटक प्रधानमन्त्री ओलीलाई पनि भेटेका छन्। उक्त भेटमा उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम हो भनेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले ‘मैले विघटन गरेको कुरा आफैंले गलत भन्ने कुरा भएन’ भन्दै उनलाई चुनावको तयारीमा लाग्न सुझाव दिएका थिए। जवाफमा पण्डितले चुनाव हुन्छ र भन्ने प्रश्न गरे। प्रधानमन्त्रीले चुनाव हुन्छ भने, चुनावको वातावरण बनाउन पनि आग्रह गरे।

उनले यो बीचमा ओली समूहका महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्वाङलगायतका नेतासँग पनि एकता गर्न भन्दै भेट गरेका छन्। दुवै पक्षमा नखुलेका नेता पण्डितलाई दुवै समूहले आफ्नो पक्षमा लाग्न आग्रह गरेका छन्। तर उनी आफू पार्टी एकता गर्ने अभियानमा दृढ भएकाले कुनै पनि समूहमा नलाग्ने बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *