लयको लोभले कविता लेख्न थाल्नेहरुले छन्द कविताको बदनाम गराए : बलराम दाहाल – Dcnepal

लयको लोभले कविता लेख्न थाल्नेहरुले छन्द कविताको बदनाम गराए : बलराम दाहाल

शनिबारीयमा आज हामी ‘यमातारजभानसलगा’को विषयमा कुरा गर्ने छौं। यो यति, गति र लय हो। यो छन्द हो। नेपाली छन्द कविताको आधारभूत ज्ञान हो यो।

छन्द कवि बलराम दाहाल नेपाली छन्द साहित्यमा परिचित नाम हो। नेपाली छन्द कवितामा कवि दाहालले लामो समय कलम चलाएका छन्। कवि दाहालको करिव १६÷१७ वर्ष पहिला लेखिएको ‘नरोएको कुनै दिन…’ कविता नेपाली साहित्य आकासमा चर्चित सृजना हो।

कवि दाहालले साहित्यिक विवाह गरेका हुन्। आफ्नो छन्दको कविता संग्रह ‘भाडा नलाग्ने कोठा’ र भैरवी भूगोलको ‘असिमित शालिनता’ दुईवटा कृतिहरु सार्वजनिक गर्दै विवाह बन्धनमा बाधिँएका थिए। उनै साहित्यका दाहालको केही व्यक्तिगत जीवन, केही साहित्य र केही कविताका बारेमा गरिएको कुराकानीको सम्पादिन अंश

कविता के हो ?

बडो अफ्ठेरो विषय छ। कविताको परिभाषा यही भो भनेर शुत्रजस्तो केही छैन। तर,मैले यसलाई विचार र कलाको लयात्मक संयोजन हो भन्छु।

मैले विलम्ब नगरी सोधेँ। यहाँले छन्दमा कविता लेख्नु हुन्छ। छन्द कविता भनेको के हो त?

निश्चित सुत्रमा बाधिँएर लेखिन्छ छन्दलाई। मैले अघि कविताको परिभाषा बताएँ। त्यसैलाई यति, गति मिलाएर सुत्रवद्ध तरिकाले लेखिने कविता नै छन्द कविता हो। यो एउटा लय पनि हो।

मुक्त छन्दमा कविता लेख्नेले छन्दलाई पुरानै देख्ने गर्नुभएको छ नि!

मुक्त छन्दको कवितामा लय आफैंले निर्माण गर्दै जाने हो। तर, छन्द कवितामा लय पहिले नै निर्मित हुन्छ। जस्तै, शार्दुलबिक्रिडित छन्द छ। यसको लय निर्मित छ। हामीले बनाएको साँचोमा शब्द मिलाउँदै जाने हो। शब्द मिलाएर मात्रै भएन कलात्मक तरिकाले भाव खिच्न सक्नु पर्यो।

छन्द ब्राम्हणहरुको मात्र पेवा हो भन्ने जमाना छैन अब। अहिले सबैले छन्दमा कविता लेख्नु हुन्छ। हामीले संचालन गर्ने साहित्यबाटिकामा पनि त्यो कुरा उठाउँछौं। त्यहाँ ब्राम्हण बाहेकले पनि छन्दमा कविता सुनाउनु हुन्छ। संस्कृत पढ्नै पर्छ भन्ने हैन। तर, तत्सम शब्दहरुका लागि संस्कृतको ज्ञान भयो भने राम्रो हुन्छ भन्ने मात्र हो।

मुक्त छन्द कविता जस्तै छन्दमा पनि प्रस्तुतिले विशेष महत्व राख्छ नै। विषेश गरी कवितामा कविले कस्तो भाव र शैली प्रस्तुत गर्यो, उसको कवित्व कसरी आएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। नयाँ र पुरानो भन्ने नै छैन।

छन्दमा धेरै कुरा लेख्न सकिँदैन। सीमा भित्र बाँधिनु पर्छ। मुक्त छन्दमा खुलेर लेख्न पाइन्छ भन्ने पनि छ नि?

भन्दै छु, यो कस्तो व्यक्तिहरुका लागि लागू हुन्छ भने छन्दको ज्ञान केही पनि छैन। रगण, मगण मात्र हैन। जति पनि छन्दहरु छन्,जस्तै सार्दुलविक्रिडित, अनुष्टुप, शिखरिणी, मन्दक्रान्ता यी सबैको ज्ञान नभएपछि जे बोल्दा पनि हुन्छ, कहाँ यति हुने, कहाँ गति हुने भन्ने ज्ञान हुँदैन।सुत्रमा लेख्न थालेको हुँदैन। छन्दमा हात बसेको हुँदैन। हात नबसिकन लयको लोभले कविता लेख्न थाल्नेहरुले छन्द कविताको बदनाम गराए।

लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे जस्तै पछिल्लो पुस्ता छन्द तिर आकर्षक भएको कति पाउनु हुन्छ?

२०२० देखि २०५० सम्म छन्द कविता सेलाएको थियो। ५० को दशकपछि पुर्नजागरण भएको छ। विशेष गरेर कोरोनाको महामारीले छन्द कविता प्रति आकर्षक गरायो। पहिलो कुरा त छन्द कविताको लयले खिच्छ। पछिल्लो पुस्ता छन्दतर्फ आकर्षित भएको नै देख्छु। मैले अघि पनि भने मात्रा गुणात्मक छैन। गुणात्मक प्रस्तुति नभएका कारण नदेखिएको हो।

छन्द कविता लेख्नको लागि संस्कृत पढ्नै पर्छ भन्ने हो?

छन्द ब्राम्हणहरुको मात्र पेवा हो भन्ने जमाना छैन अब। अहिले सबैले छन्दमा कविता लेख्नु हुन्छ। हामीले संचालन गर्ने साहित्यबाटिकामा पनि त्यो कुरा उठाउँछौं। त्यहाँ ब्राम्हण बाहेकले पनि छन्दमा कविता सुनाउनु हुन्छ। संस्कृत पढ्नै पर्छ भन्ने हैन। तर, तत्सम शब्दहरुका लागि संस्कृतको ज्ञान भयो भने राम्रो हुन्छ भन्ने मात्र हो।

‘तरंग झिल्कासरि उठ्दछ आज’ यो वाक्यलाई हरेक ३ वटा वाक्यकोपछि जोडेर कविता लेख्नु भएको छ नि?

समस्याप्रति भन्छन। छन्दको एउटा नियम हो यो। हामीले जहाँ समस्या देखाउँछौं र त्यसैलाई आधार बनाएर कविता पूर्ण गर्दछौं। हामीले भन्न खोजेको कुरालाई विषेश जोड दिनका लागि पनि यो वाक्यलाई दोहोर्याएका हौं भन्न सकिन्छ सामान्य भाषामा भन्दा।

जस्तो समस्या प्रति भन्नु भयो। लघु, गुरुलाई पनि ख्याल गरिनु पर्छ भनिन्छ। यस्ता कुराले के अर्थराख्छन् ?

छन्द कविता लेख्दा लघु गुरुको ख्याल भएन भने त कविता लेख्न नै सकिँदैन। हाम्रो व्याकरणमा कुन शब्दले के अर्थ बोल्छ भन्ने कुरा पनि छ। हामीले छन्दमा शब्दको अर्थ र भावलाई कुनै फरक नपरोस भन्नका लागि पनि बर्ण विन्यास, शुद्धाशुद्धीमा ध्यान दिनु जरुरी हुन्छ।

पानीलाई ह्रस्व लेखेर भए पनि छन्द नबिगार भन्ने पहिला पहिला हुन्थ्यो। अब त्यो पनि लागू हुँदैन। अहिले त केही कुरालाई पनि तलमाथि नगरिकन, भाव नबिगारी लेखिनु पर्छ भने अबको मान्यता रहेको छ।

यहाँले पहिलो कविता छन्दमा लेख्नु भयो वा मुक्त छन्दमा ?

कुनै छन्दमा थिएन। मानवता भन्ने कविता लेखेको थिएँ। हाइस्कुल पढ्दा लक्ष्मीप्रसाद देवकोटाको बारेमा पढाउँदै गर्दा मानवताका बारेमा बुझेँ र त्यही कुरालाई उठाएर कविता लेखेँ।

यहाँको विवाह पनि अलि फरक शैलीले भएको हो?

भैरवी भूगोलको असिमित शालिनता र मेरो भाडा नलाग्ने कोठा कविता संग्रह विमोचन गरेर हामी वैवाहिक सम्बन्धमा बाधिँएका हाैं। हाम्रो साहित्विक विवाह नै हो। पूर्ण रुपमा परम्परालाई पनि छोडेनौं। पूर्ण रुपले प्रयोग पनि गरेनौं। साहित्यकारहरुलाई बोलायौं। र, विवाह गर्यौं।

कलम चलाउनेहरुले अफैलाई परेको कुरामात्र बढी लेख्छन भन्ने छ नि?

व्यक्तिगत भोगाई हुन सक्छ। मैले तपाईँको भोगाईलाई कवितामा लेखेँ भने त्यो मेरो मात्र नभएर हजारौंको कविता हुन सक्छ। आफूले व्यक्तिगत भोगेको, देखेको कुरालाई अनुभूति गरेर मैले लेखेको कविता सबैको कविता बन्दा चाँही जीवन्त हुन्छ।

लेखेर बाँच्न कतिको सजिलो छ ?

आजको दिनमा लेखेरै बाँच्छु भन्न गाह्रो छ। लेखेरै बाँच्नका लागि धेरै कुराहरुले प्रभाव पार्दो रहेछ। लेखेपछि प्रकाशक पाउने साहित्यकार पनि छन्, आफ्नै घरबार बेचेर पुस्तक प्रकाशन गर्ने साहित्यकार पनि छन्।

गुणात्मक तरिकाले आएको कृति चल्यो भने पनि आउने रोयल्टी कहिलेसम्म आउनु। जीवन निर्वाह अलग कुरा हो। म घर बनाउँछु, राम्रो जीवनशैली जिउँछु भन्नु गाह्रो छ।

छन्दमा कविता लेख्न खोज्ने पछिल्लो पुस्तालाई के भन्नु हुन्छ ?

सबै भन्दा पहिला छन्दको ज्ञान हुनु पर्यो। धेरै छन्द छन सबैमा हात नहाल्नुहोस्। कुनै एउटा छन्द छान्नुहोस्। वर्ण विन्यासको राम्रो ज्ञान राख्नुहोस्। एउटा छन्दमा हात बसाल्नुहोस्। पहिलो चरणमा नै नआत्तिनुहोस्। पहिलो चरणलाई न आत्तिएर पार गर्नुहोस् दोश्रो चणर अनि मात्र राम्रो हुन्छ। छन्दलाई आफूले खेलाउन सक्ने भएको खण्डमा मजाले अगाडि बढ्न सकिन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो