बैंकबाट झुक्किएर सयौंको खातामा अरबौं रुपैयाँ गयो, अदालतले भन्यो ‘बैकले पैसा फिर्ता पाउँदैन’

डिसी नेपाल
६ फागुन २०७७ १३:२०

काठमाडौं। बैंकिङ इतिहासकै सबैभन्दा ठूलो गल्ती गरेर सयौं व्यक्तिको खातामा अरबौं रुपैयाँ रकम पठाएको बैंकले त्यो रकम फिर्ता नपाउने भएको छ । अमेरिकाको सिटीबैंकले झुक्किएर ट्रान्सफर गरेको झण्डै ५०० मिलियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) फिर्ता लिन नसक्ने अमेरिकाको एक जिल्ला अदालतले फैसला गरेको छ ।

सीएनएनको रिपोर्टअनुसार सिटीबैंकले रेभ्लोन नामक सौन्दर्य प्रसाधन उत्पादक कम्पनीको ऋण एजेन्टको रुपमा काम गरिरहेको थियो । बैंकले रेभ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्याजवापत ८ मिलियन डलर (९३ करोड रुपैयाँ) पठाउनुपर्ने थियो । तर, बैंकले झुक्किएर कूल ९०० मिलियन डलर (१ खर्ब ५ अर्ब रुपैयाँ) रेभ्लोनका ऋणदाताहरुको खातामा पठायो ।

केही ऋणदाताहरुले झुक्किएर आएको रकम फिर्ता पनि गरे र अरुले फिर्ता गरेनन् । गएको अगष्टमा सिटीबैंकले आफूले पैसा फिर्ता पाउनुपर्ने दावीसहित अदालतमा मुद्दा हाल्यो । तर, बैंकले अझै पनि १० वटा लगानी सल्लाहकार फर्मबाट ५०० मिलियन डलर रकम फिर्ता पाएको छैन ।

अमेरिकाको कानुनले यसरी झुक्किएर आफ्नो खातामा आएको पैसा खर्च गर्ने व्यक्तिलाई सजायको व्यवस्था तरेको छ । तर, न्यूयोर्कको कानुनमा एउटा विशेष अपवाद छ । यो अपवादअनुसार जुन व्यक्तिको खातामा पैसा आएको छ त्यो व्यक्ति त्यो पैसा पाउने हकदार हो भने उसले झुक्किएरै आएको भए पनि त्यो पैसा राख्न पाउँछ ।

यो घटनामा पनि रेभ्लोनका ऋणदाताहरुले यही अपवाद प्रयोग गरे । खासमा उनीहरुले रेभ्लोनलाइ ऋण दिएका थिए र उनीहरु त्यो ऋण फिर्ता पाउने हकदार थिए । तर, त्यो पैसा त्यतिबेलै फिर्ता दिनुपर्ने नभइ निश्चित समयपछि फिर्ता दिइनुपर्ने थियो, बैंकले त उनीहरुलाई ब्याज मात्र पठाउन खोजेको थियो ।

ऋणदाताहरुले भने आफूहरुलाई बैंकले प्रिपेमेन्ट गरेको (समय अगावै ऋण तिरेको) जस्तो लागेको बताए । बैंकबाट झुक्किएर आएको रकम त्यति नै थियो जति रेभ्लोनले उनीहरुसँग ऋण लिएको थियो । यद्यपि त्यो रकम त्यतिबेलै फिर्ता गर्नुपर्ने नभइ अझै केही समयपछि मात्रै तिर्ने तय थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *