नारायणगोपालका बारे धेरैलाई भ्रम थियो

डिसी नेपाल
८ फागुन २०७७ ७:१२
172
Shares

२०४५ सालको कुरा हो, एक दिन मेरा पति अफिसबाट फर्कंदा विशेष खबर बोकेर आउनुभएको रहेछ। घर आउनासाथ मलाई भन्नुभयो–“तिमीलाई गायक नारायणगोपालले बोलाउनुभएको छ।

म एकछिन त बोल्न सकिन र पनि सोधेँ– “के यो साँचो हो?” वास्तवमा त्यो साँचो थियो, नारायणदाइले मलाई ‘स्वर्णिम–सन्ध्या’ कार्यक्रमको लागि बोलाउनुभएको थियो।

म सोच्न थालेँ– दाइले मेरो स्वर कहाँ सुन्नुभएछ! न कि कुनै रेकर्ड नै थियो मेरो। पछि थाहा पाएँ कि मैले २०४४ साल चैत्रमा रेडियो प्रतियोगितामा भाग लिँदा दाइ निर्णायक मण्डलको सदस्य हुनुहुँदोरहेछ।

यसरी २०४५ साल जेष्ठ महिनामा ‘स्वर्णिम–सन्ध्या’ कार्यक्रमको रिहर्सलको सिलसिलामा म्यूजिक नेपाल (पुरानो भवन) मा दाइलाई भेट्ने पहिलो मौका पाएँ।

म्यूजिक नेपालको स्टुडियोभित्र पस्नेबित्तिकै दाइलाई नमस्कार गरेँ, उहाँले शिर झुकाएर मेरो नमस्कारलाई स्वीकार्नुभयो। उहाँ वाद्यवादकको माझमा हार्मोनियम बजाउँदै ‘एउटा मान्छेको मायाले……’ गीत गाउँदै हुनुहुन्थ्यो। मैले ४ वर्षको मेरो छोरालाई पनि साथै लगेकी थिएँ।

ऊ मेचमा बसेर दाइले गाउनुभएको गीतमा हातले राम्ररी ताल दिइरहेको रहेछ। पछि मलाई– “तिम्रो छोरा राम्रो कलाकार हुन्छ, राम्रो शिक्षा दिनू” भन्नुभयो। त्यो दिन रिहर्सल सकिएपछि राजु अग्रवाललाई मखन गल्लीमा समोसा लिन पठाउनुभयो, तात्तातो समोसा खाएपछि म दाइसँग बिदा भएँ।

‘स्वर्णिम–सन्ध्या’ पछि दाइसँग मेरो भेट भएन। अचानक एकदिन फेरि पोखरामा आयोजित ‘सन्ध्याकालीन क्षितिज” कार्यक्रमको लागि बोलाउनुभयो। मैले तुरुन्तै जान्छु भन्न सकिन कारण कलाकार टोलीमा महिला म मात्र थिएँ। उहाँसँग गीत गाउन र कार्यक्रम गर्न कुन कलाकारको इच्छा नहोला र!

एकदिन गलाको (स्वरको) प्रसङ्गमा भन्नुभयो– “मेरो स्वर के मीठो छ र? मेरोभन्दा धेरै राम्रो गला भएका गाएक छन् यहाँ तर के गर्नु गीतलाई कसरी गाउने भन्ने कुरै थाहा छैन।” साँच्चै गीतमा ज्यान हाल्ने त स्वर नै हो, यदि स्वर निर्जीव भई बगेमा गीत स्वतः मर्छ। आखिर उहाँको स्वर जीवित प्रवाहमा बग्थ्यो जसले हरेक गीतलाई जीवित बनायो र युगौँयुग जीवित रहिरहन्छ।

तर उहाँप्रतिको विभिन्न हल्ला (निराधार) ले मलाई धक लाग्यो र मैले उहाँको घरमा फोन गरेँ, भाउजूलाई पनि पोखरा जान अनुरोध गरेँ तर भाउजू जान नसक्ने हुनुभयो। अन्त्यमा डर, त्रास र खुशी तीनै कुरा बटुलेर मैले पोखरा जाने हिम्मत गरेँ।

दीपेन्द्र सभागृहमा कार्यक्रम सम्पन्न भयो र ज्यादै राम्रो पनि भयो। त्यही राति आयोजक समूहले गरेको भेटघाट कार्यक्रममा हामी सबै भेला भयौँ। दाइले मलाई ‘नानी’ भनी बोलाउनुभयो र आफ्नो छेउमा राखी ‘एउटा राम्रो प्रतिभा’ भनी परिचय गराउनुभयो।

त्यही दिनदेखि मलाई लाग्यो नारायणदाइ स्वच्छ र सफा हुनुहुन्छ तर मानिसहरु (कलाकार नै) किन उहाँलाई धमिलो र बिटुलो बनाउन खोज्दछन्? आखिर कलाकारको शत्रु कलाकार नै हुने तथ्यलाई मैले बुझेँ, किनकि श्रोताले त कलाकारलाई अति माया र सम्मान गर्छन्।

भोलिपल्ट बिहान मदनकृष्ण, हरिवंश, होमनाथ, भूपेन्द्र, मदनसिंहलगायत माइकम्यान अरिम र रामेश दाइ बसबाट फर्किनुभयो। दाइ र म एयरपोर्ट टाइमलाई कुरिरह्यौँ। पानी एकनासले परिरहेको थियो। प्लेन ल्याण्ड गर्न नसकेको खबर पटकपटक होटलमै प्राप्त हुन्थ्यो।

दाइ मलाई विभिन्न कुरा भनिरहनु हुन्थ्यो– “हेर यहाँ त पानी परेपछि सात दिनसम्म रोकिन्न। अब हामी सात दिनसम्म यहीँ बस्नुपर्छ। केही छैन यहीँका वाद्यवादकहरु दुईचार जना बोलाउने र कार्यक्रम गर्ने, हुन्न?”

म भने बोल्न सकिरहेकी थिइनँ कारण मैले दाइको कुरालाई विश्वास गरेँ। सोच्न थालेँ सात दिन कसरी बिताउने? अचानक गाडीको हर्न बज्यो। म झस्किएँ। आयोजक साथी हामीलाई एयरपोर्ट लान आइपुग्नु भो। म रमाएँ, मेरो खुशी देखेर दाइ खूब हाँस्नुभो। यसरी हामी त्यही दिन करीब १२ बजेतिर काठमाडौं आइपुग्यौँ।

कार्यक्रम गर्ने सिलसिलामा म दाइसँग बुटवल, भैरहवा, धनगढी र सिलिगुढीसम्म पुगेँ। प्रायः म दाइलाई ‘बिछोडको पीडा…’, ‘ए कान्छा ठट्टैमा, ‘ईश्वर तैंले…’ गीतमा साथ दिन्थेँ। म आफ्नो स्वरसँग ज्यादै असन्तुष्ट हुन्थेँ, दाइ मलाई ‘स्वर मात्र आफ्नो लागि होइन अरुको लागि हो’ भन्दै सान्त्वना दिनुहुन्थ्यो।

धनगढीमा हामी गेष्ट हाउसमा बसेका थियौँ। ‘शो’ हुने दिन बिहान बजार घुम्न निस्कियौँ। बाटो हिँडिरहेको बेला अचानक “नारान दाइ….नारान दाइ….” भनी बोलाइरहेको कुनै महिलाको आवाज सुनियो। एउटी महिलालाई देखेपछि मैले इसारा गरें दाइलाई। दाइले मलाई चुप लाग्ने सङ्केत दिनुभयो। हामी फटाफट अघि बढ्यौँ।

दिउँसो हामी गेष्ट हाउसमै थियौँ, तिनै महिला हामी भएतिर आएको देखी मैले दाइलाई भनेँ। दाइ त “ल त्यसो भए म निदाएँ” भनी सिरकले मुख छोप्नुभयो। मदनकृष्ण र हरिवंश दाइ हतारहतार ट्वाइलेटमा पस्नुभयो। म आफ्नो कोठामा गएर बसेँ। पछि मदन दाइले नारायणदाइलाई जिस्काउन थाल्नुभो– “मैले पुण्य मन पाराएँ या पाप मन पराएँ, जे होस् मैले चुपचाप ड्र्याकुला मन पराएँ।”

साँझ हामी हलमा पुग्यौँ। कार्यक्रम सुरु भयो। आधा कार्यक्रम सकिएपछि मैले फर्माइसका कागजहरु खोलेँ, तीमध्ये एउटा कागजमा रातो साइनपेनले लेखिएको थियो– “मैले पुण्य मन पराएँ या पाप मन पराएँ…” मैले दाइलाई देखाएँ, दाइले झर्किँदै भन्नुभयो– “आज म यो गीत गाउँदै गाउँदिन।” –साँच्चै उहाँले त्यो गीत गाउनु भएन। दाइ प्रायः मानिसहरुसँग कमै बोल्नुहुन्थ्यो, तर ती महिलाको स्वभाव अति नै बोल्ने भएकोले टाढा रहनुभएको कुरा पछि मैले थाहा पाएँ।

नारायणदाइ प्रायः भाउजूको चिन्ता गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो– “म छैन भने तिम्रो भाउजूले भातै पकाउँदिन।” –धनगढी पुग्दा पनि यही कुरा दोहोर्याउनु भो। मैले भनेँ– “अर्को कार्यक्रममा चाहिँ भाउजूलाई पनि लाने।’’ नभन्दै सिलीगुडीको कार्यक्रममा भाउजू पनि जानुभयो।

कार्यक्रम अति नै राम्रो भयो। ‘अल्झेछ क्यारे पछ्यौरी…..’ गीतबाट सुरु भएको त्यो कार्यक्रममा दाइले नेपाली गीत र नेपाली मुटुको अमिट छाप भारतीय नेपाली र भारतीयहरुमा छोड्नुभयो। मलाई लाग्छ राष्ट्र र राष्ट्रियताको सवालमा नारायणदाइको जति दरिलो मुटु बिरलै कलाकारको पाइन्छ।

आखिर दाइसँगको मेरो अन्तिम यात्रा नै यही भयो। सिलीगुडीबाट फर्किएपछि प्रायःजसो दाइलाई म फोन गरिरहन्थेँ। कुनै दिन यस्तो पनि भएको छ कि हामी घण्टौंसम्म वार्तालाप गरिरहन्थ्यौँ, कहिले शास्त्रीय कहिले लोक गायनको नबुझेको कुरा म पटकपटक सोधिरहन्थेँ। गीत घरमै भए पनि अत्यधिक गाइरहने सल्लाह दिनुहुन्थ्यो। उहाँको घरमा जाँदा आफ्नै हातले बनाएको चिया ख्वाउनुहन्थ्यो।

कहिले यस्तो पनि भएको छ कि फोनमा “हेलो” बाहेक अरु वाक्य नै फुटेन, कारण दाइको मूडलाई म राम्ररी बुझ्दथेँ र फोन राखी दिन्थें। सायद उहाँको भावनाको कदर गर्न नसक्नेले नै उहाँलाई घमण्डी भन्थे। भावनामा चुर्लुम्म डुब्दा महकवि स्व. लक्ष्मीप्रसाद देवकोटालाई पनि कुनै बेला जबरजस्ती बौलाहा बन्नु परेको थियो।

एकदिन गलाको (स्वरको) प्रसङ्गमा भन्नुभयो– “मेरो स्वर के मीठो छ र? मेरोभन्दा धेरै राम्रो गला भएका गाएक छन् यहाँ तर के गर्नु गीतलाई कसरी गाउने भन्ने कुरै थाहा छैन।” साँच्चै गीतमा ज्यान हाल्ने त स्वर नै हो, यदि स्वर निर्जीव भई बगेमा गीत स्वतः मर्छ। आखिर उहाँको स्वर जीवित प्रवाहमा बग्थ्यो जसले हरेक गीतलाई जीवित बनायो र युगौँयुग जीवित रहिरहन्छ।

उहाँ प्रायःजसो बिरामी नै हुनुहुन्थ्यो। उहाँको रोगको बारेमा मलाई राम्ररी ज्ञान थियो, म जहिले पनि चिन्तित हुन्थेँ। किड्नी डायलोसिस गराउन थाल्नुभएपछि त झन् पीर बढ्यो मेरो। दिउँसो हामी पतिपत्नी उहाँलाई भेट्न घरमै गयौँ। करीब दुई घण्टा जति कुराकानी भयो।

हामीले मृगौला फेर्नेबारे कुरा गर्यौँ। मलाई थाहा थियो कि मृगौला फेरेको खण्डमा पनि उहाँलाई बचाउन सम्भव थिएन। तर पनि “सास छउन्जेल आस” भने झैं मैले सोही कुरा दोहोर्याएँ। उहाँले “म कसैको आभारी भएर बाँच्न चाहन्न” भन्नुभयो। हामी निराश भएर घर फर्कियाैं।

करीब दुई दिनपछि उहाँ आई.सी.यू. वार्डमा भर्ना भएको खबर पाएँ। मन अमिलो भएर आयो, जबरजस्ती आफूले आफैँलाई सम्हाल्दै हस्पिटल पुगेँ। भाउजूको अनुहार देखेपछि दाइको सामु उभिने साहस ममा रहेन।

म फर्किन खोजेँ। भाउजूले मलाई दाइलाई सुप ख्वाउन भित्र पठाउनुभयो। आँखाको आँसुलाई लुकाउन खोज्दै दाइको सामु उभिएँ र भनें– “दाइ मलाई चिन्नु भो?” मात्र शिर हल्लाउनुभयो। “अलिकति सुप खानुभए हुन्थ्यो” डराउँदै भनेँ। “तिमेरु सबैलाई यही भन्नु भनेर पठा‘को ?” भनी झर्किनुभयो।

मैले उहाँको अन्तिम बोली यही सुन्न पाएँ। त्यसपछि त… खै के भनूँ म अहिले पनि भन्न सक्तिनँ।  अब मलाई “ठूलो छोरी” भनेर सम्बोधन गर्ने पिता असङ्ख्य छोराछोरीहरुलाई अनाथ बनाएर टाढा धेरै टाढा हुनुभएको छ। मात्र स्वरको स्पर्शले हामी बाँच्नु परेको छ । छोराछोरीहरुको माया, स्नेह, ममता परिवारका अन्य सदस्यबाट पनि पाउँछन् नै तर पिताको अभाव जिन्दगीभर खट्किरहनेछ।

(नारायणगोपालबारे विशिष्ट ७० जना व्यक्तित्वहरुको संस्मरण समेटिएको बागीनाको नारायणगोपाल स्मृति विशेषाङ्कबाट। यसलाई अजम्बरी पब्लिकेशनले केही दिनमै बजारमा ल्याउँदैछ ।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *