प्रदेश सभा एक : अवरूद्ध पार्ने सत्तापक्षकाे रणनीति, विपक्षी भन्छ- बैठक बस्छ

डिसी नेपाल
९ फागुन २०७७ १२:००

काठमाडौं। विवाद र रस्साकस्सीबीच प्रदेश नम्बर एकको प्रदेशसभा बैठक बस्ने भएको छ। आइतबार (आज) दिउँसो दुई बजे बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव टेवल गरिने कार्यक्रम रहेको छ।

यद्यपी सत्तापक्षले भने बैठक रोक्न सभामुखलाई दबाब दिएको आरोप लगाएको छ। नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका सांसद जीवन घिमिरेले मुख्यमन्त्री राईले सभामुखलाई दबाब दिएर बैठक रोक्न खोजेको आरोप लगाएका छन्।

‘यसअघि सत्तापक्षको आग्रहलाई स्वीकार गर्दै १४ दिनसम्म बैठक स्थगित गरिएको हो, अब सधैं बैठक स्थगित गर्ने विषय उचित होइन,’ घिमिरेले डिसी नेपालसँग भने, ‘अहिले पनि सभामुखलाई दबाब दिने र बैठक रोक्ने प्रयास भइरहेको छ। आज कुनै पनि हालतमा बैठक रोकिँदैन। दुई बजे बैठक बस्छ र अविश्वासको प्रस्ताव टेवल हुन्छ।’

पुस पाँच गते प्रतिनिधिसभा विघटन भएपछि त्यसको असर प्रदेशसभामा पनि देखिँदै खाएको छ। प्रदेश एकका मुख्यमन्त्री राई विरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ। मुख्यमन्त्री राई अविश्वासको प्रस्ताव रोक्ने प्रयासमा छन् भने अर्को समूह आजै टेवल गर्ने पक्षमा छ।

यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।

अविश्वासको प्रस्ताव टेवल भए पारित हुने संभावना रहेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *