सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ, मोटरसाइकल र डिजिटल तराजु बरामद
रौतहट । सिरहाको मिर्चैयाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, नगद, मोबाइल, डिजिटल तराजु र एउटा मोटरसाइकलसमेत बरामद गरेको छ।
बिहीबार राति करिब ८ः१० बजे मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले संयुक्त टोली परिचालन गरेको थियो।
इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–००५ प ३००३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालक भने सवारीसाधन छाडेर फरार भएका थिए।
मोटरसाइकलमा पछाडि सवार मिर्चैया नगरपालिका–५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ का २० वर्षीय सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
जाँचका क्रममा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३.०७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्लास्टिकबाहेक ब्राउन सुगरको तौल १०.३९ ग्राम रहेको छ।
त्यस्तै, उनीहरूको साथबाट नगद ४ हजार रुपैयाँ, दुई थान स्क्रिन टच मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार बरामद लागुऔषध तथा अन्य सामान र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment