६० वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने छौँः मन्त्री त्रिपाठी

डिसी नेपाल
९ फागुन २०७७ २२:१८
68
Shares

परासी । सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आइतबार भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । उनले आइतबारै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिए ।

मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए । “कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ”, उनले भने।

फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट–दुम्किबास सडक निर्माणका लागि केन्द्रीय योजनाका रुपमा सरकारले प्राथमिकता दिएको जानकारी दिए । सो सडकका लागि बजेट विनियोजन भई काम शुरुआत भइसकेको उनले जानकारी दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *