फेरि अर्को दुर्घटना ! नेदरल्याण्डमा पनि बोइङ कार्गो विमानको इन्जिनमा आगो लाग्यो

डिसी नेपाल
११ फागुन २०७७ १४:२१

काठमाडौं। पछिल्ला २ दिनमा हवाइ क्षेत्रमा निकै भयानक घटनाहरु भएका छन् । नेदरल्याण्डमा पनि बोइङ कार्गो विमानको इन्जिनमा टेकअफ गर्नासाथ आयो लागेको छ । इन्जिनमा आगो लागेर इन्जिनका टुक्रा भुइँमा खस्दा टुक्राले लागेर २ जना घाइते भएका छन् । आइतबार दिउँसो नेदरल्याण्डको मास्ट्रिच्ट विमानस्थलबाट उडेको बोइङ ७४७–४०० जेटको इन्जिनमा आयो लागेपछि इन्जिनका टुक्राहरु मिरसेन सहरमा खसेका थिए ।

डेलीमेलको रिपोर्टअनुसार टुक्राले लागेर एक वृद्ध महिलाको टाउकोमा चोट लागेको छ । एक बालकले खसेको तातो धातुको टुक्रा समाउँदा हात जलेको छ । यो जहाज बर्मुडाको एयरलाइन्स लंगटेल एभिएसनको भएको बताइएको छ । विमान न्युयोर्कको जेएफके विमानस्थल जानको लागि उडेको थियो र यसको रुट बेलायत हुँदै जानुपर्ने थियो । आगो लागेपछि विमानलाई बेल्जियमको लिगे एयरपोर्ट डाइभर्ट गरिएको थियो जहाँ विमान आपतकालीन अवतरण गरिएको छ ।

मेक्सिकोमा पनि सेनाको विमान दुर्घटना हुँदा ६ जना सैनिकको ज्यान गएको थियो । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजमा विमानस्थलबाट उडेको केही समयमै विमानमा आगो लागेर विष्फोट भएको थियो । विमानमा सवार ६ जना सबैको मृत्यु भएको थियो । यो दुर्घटनाको कारण प्रस्ट भइसकेको छैन । दुर्घटना स्थानीय समयअनुसार बिहान पौने १० बजे भएको बताइएको छ ।

यसअघि नाइजेरियामा पनि सेनाको विमान दुर्घटना हुँदा सेनाका ७ जनाको मृत्यु भएको थियो । इन्जिन फेल भएपछि विमानमा विष्फोट भएको थियो र विमानमा आगो लागेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए । इन्जिनमा आगो लागेपछि विमानको आकस्मिक अवतरणको कोसिस गरिएको थियो तर यसमा पाइलट सफल हुन सकेनन् ।

त्यसअघि अमेरिकाको एक यात्रुवाहक विमानको इन्जिनमा पनि आगो लागेको थियो । यद्यपि यो विमान भने ठूलो दुर्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै इन्जिनमा आगो लागेको थियो तर पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । आगो लागेपछि विमानका पुर्जाहरु मानव बस्तीमा खसेका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *