महोत्तरीको मटिहानीमा कलात्मक घण्टाघर उद्घाटन

डिसी नेपाल
११ फागुन २०७७ २३:०६

महोत्तरी । भारतीय सीमावर्ती महोत्तरीको मटिहानीमा कलात्मक घण्टाघरको उद्घाटन भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज एक समारोहबीच मटिहानी नगरपालिका–८ स्थित मटिहानीबजारमा निर्मित घण्टाघर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

नेपाल–भारत सीमा दशगजाबाट १०० मिटरको दूरीभित्र निर्माण भएको ५० फिट अग्लो घण्टाघरबाट मटिहानीसहित जिल्ला सदरमुकाम जलेश्वर नगरका बस्ती, छिमेकी जिल्ला धनुषाको जटहीसहितका क्षेत्र र भारतीय बजार मधवापुर अवलोकन गर्न सकिन्छ । मटिहानी नगरपालिकाले रु ३५ लाख १० हजार ३४६ को लागतमा निर्माण गरेको घण्टाघर अब पौराणिक र धार्मिक महत्वको मटिहानी नगरका लागि थप वैभव बनेको अध्यक्ष यादवले बताए ।

“मटिहानी मिथिलाकी छोरी जानकीको विवाहमा यज्ञवेदी निर्माणका लागि माटो खनिएको ठाउँ मानिएको छ”, मटिहानीको रामायणकालीन धार्मिक महत्वबारे प्रकाश पार्दै अध्यक्ष यादवले भने, “यहाँका लक्ष्मीनारायण मठ, संस्कृत माध्यमिक विद्यालय र क्याम्पससहित अब घण्टाघर पनि वैभवमा थपिएको छ ।” यसको समुचित सम्भारको व्यवस्थापन गर्न नगरपालिका, उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाजसँग अध्यक्ष यादवले अपिल गरे ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका धार्मिक, पौराणिक र पर्यटकीय महत्वका स्थलको विकासमा आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए ।
नवनिर्मित घण्टाघरमा चढ्न सिँढी बनेको हुँदा मटिहानी पुग्ने जो सुकैका लागि चढ्न रहरको विषय बन्ने बताउँदै नगरप्रमुख हरिप्रसाद मण्डलले यसको समुचित व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिवद्धता जनाए । समारोहमा प्रदेश–२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जसपाका केन्द्रीय सदस्य रामकुमार मण्डल, हरिनारायण यादव र अन्य दलका प्रतिनिधिले घण्टाघर निर्माणले नगरको परिचयमा थप विशेषता थपिएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *